निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए सवा ४ अर्ब रुपैयाँ, साविक प्रिमियरको खर्च सर्वाधिक बढ्दा युनाइटेडले घटायो

२ जेष्ठ २०८०, मंगलवार ११:२८

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म व्यवस्थापन खर्च ९.८० प्रतिशतले बढ्न पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च गत वर्षको तुलनामा बढ्न पुगेको हो ।

यस अवधिसम्म कम्पनीहरुले कुल ४ अर्ब १५ करोड रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले ३ अर्ब ७८ करोड रुपैयाँ व्यवस्थापनमा खर्चेका थिए ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले यस आर्थिक वर्ष भित्र फोर्स मर्जरको नीति ल्याएसँगै कम्पनीहरु भटाभट मर्जरमा गएका कारण पनि व्यवस्थापन खर्च बढेको देखिएको छ । प्राय मर्जरमा सामेल भएका कम्पनीहरुको यस अवधिसम्म व्यवस्थापन खर्च गत वर्षको तुलनामा बढ्न पुगेको वित्तीय विवरणले देखाएको छ ।

१६ निर्जीवन बीमा कम्पनीमध्ये चैत मसान्तसम्म सबैभन्दा बढी व्यवस्थापनमा खर्चिने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । शिखरले सो अवधिसम्म ४९ करोड ९६ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले पनि तेस्रो त्रैमाससम्म ३६ करोड ४२ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ ।

साथै मर्जरमा सामेल भएका हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन खर्च सो अवधिसम्म ३१ करोड ९६ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३१ करोड ४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको साविक सिद्धार्थ इन्स्योरेन्सको पनि सो अवधिसम्म व्यवस्थापन खर्च २९ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

 

गत आवको तुलनामा व्यवस्थापन खर्च कुनको कतिले बढ्यो ?
गत आवको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्ने कम्पनीमा साविक प्रिमियर इन्स्योरेन्स रहेको छ । यस अवधिसम्म साविक प्रिमियर इन्स्योरेन्सको व्यवस्थापन खर्च गत वर्षको तुलनामा २२.९५ प्रतिशतले बढ्न पुगेको छ ।

त्यस्तै,  शिखर इन्स्योरेन्सको २१.७९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १८.७३ प्रतिशत, नेको इन्स्योरेन्सको १८.३७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १७.२१ प्रतिशत, साविक आइएमई जनरलको १७.७ प्रतिशत, अजोडको १६.४२ प्रतिशत, हिमालयन एभरेष्टको १४.३६ प्रतिशत, ओरियन्टलको ११.४४ प्रतिशत, एनएलजीको ९.७५ प्रतिशत र साविक सिद्धार्थ इन्स्योरेन्सको २.७१ प्रतिशतले बढेको छ ।

गत आवको तुनलामा व्यवस्थापन खर्च घटाउने कम्पनीहरु
गत आवको तुलनामा यस आवको तेस्रो त्रेमाससम्म पाँचवटा निर्जीवन बीमा कम्पनीले मात्रै व्यवस्थापन खर्च घटाएका छन् । सबैभन्दा व्यवस्थापन खर्च घटाउने कम्पनीमा युनाइटेड इन्स्योरेन्स रहेको छ । युनाइटेले ११ प्रतिशतले म्यानेजमेन्ट एक्सपेन्सेस घटाएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले ८.८१ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सले ७.८५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले ३ प्रतिशत र साविक प्रुडेन्सियल इन्स्योरेन्सले १.४४ प्रतिशतले व्यवस्थापन खर्च घटाएको छ ।

नोट : यसअघि सानिमा जिआइसी इन्स्योरेन्सको गत आर्थिक वर्षको व्यवस्थापन खर्च नजोडिएको हुँदा पुनः सम्पादन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*