दोस्रो बजारमा कारोबार भईरहेको निर्जिवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासमा तिव्र प्रतिस्पर्धा, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्यांक सहित)

५ जेष्ठ २०८०, शुक्रबार ०७:१२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्।कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा टप थी्र कम्पनी र मर्जरमा भएका कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ।

प्रत्येक वित्तिय सूचकमा कम्पनीहरुको प्रतिस्पर्धा तिव्र भएको प्रकाशित वित्तिय विवरणले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुमा मर्जरको कारण थप सशक्त बन्न पुगेको छ।

चुक्ता पुँजिको आधारमा

यस त्रैमाससम्मा चुक्ता पूँजीको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शिखर इन्स्योरेन्स कम्पनीको स्थान ओगटेको छ ।साविकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर पश्चात बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । शिखरको चुक्ता पूँजी भने २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब रुपैयाँ, आइएमई जनरलले १ अर्ब ८० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३७ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीलाई २६ करोड रुपैयाँ रहेको छ।

जगेडा र बीमा कोषको आधारमा

जगेडा कोषको आधारमा हेर्ने हो भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ रकम संचिती रहेको छ ।
बैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब १ करोड १ लाख रुपैयाँ सञ्चित छ ।
जगेडा कोषमा राष्ट्रिय बीमा कम्पनी पछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रहेको छ । सगरमाथा लुम्बिीनिको जगेडा कोषमा ८३ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा भने २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

बीमा कोषमा भने राष्ट्रिय बीमा कम्पनी पछि सिद्धार्थ इन्स्योरेन्स प्रिमियरको रहेको छ । सिद्धार्थ प्रिमियरको बीमा कोषमा २ अर्ब ५२ करो रुपैयाँ सञ्चित रहेको छ ।

कुल बीमाशुल्कको आधारमा शिखरको अग्रता कायमै
कुल बीमाशुल्क आर्जनको आधारमा हेर्ने हो भने शिखर अगाडि रहेको छ भने खुद बीमाशुल्क आर्जनमा नेको इन्स्योरेन्स अघि रहेको छ ।

जगेडा र जीवन बीमा कोष बलियो रहेको राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै खुद नाफा धेरै भएको देखिन्छ।हाल नेपालमा १६ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये नेप्सेमा सूचीकृत १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ८७ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

खुद बीमाशुल्क नेको र नाफामा राष्ट्रिय बीमा कम्पनीको अग्रता

नेप्सेमा सूचीकृत १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क आर्जन नेको इन्स्योरेन्सले आफुलाई अब्बल सावित गरेको छ । कुल बीमाशुल्कमा शिखरले उछिनेपनि खुद बीमाशुल्क आर्जनमा भने नेकोले आफुलाई अब्बल सावित गरेको हो ।

नेकोले यस अवधिमा १ अर्ब ३१ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । नेकोलाई पछाउदै शिखरले १ अर्ब २३ करोड ६१ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

कुल बीमाशुल्क भने शिखरले सबै भन्दा धेरै ४ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै सगरमाथा लुम्बिनीले ३ अर्ब ४८ करोड रुपैयाँ, हिमालयन एभरेष्टले २ अर्ब २९ करोड रुपैयाँ, नेकोले २ अर्ब २६ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

खुद नाफा आर्जनमा भने राष्ट्रिय बीमा कम्पनीले सबै कम्पनीलाई उछिन्दै शिर्षस्थान ओगट्न सफल भएको छ । कम्पनीले यस अवधिमा ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
खुद नाफाको आधारमा राष्ट्रिय बीमा कम्पनी पछि शिखर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।
शिखरले यस अवधिमा ३४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै नेकोले ३४ करोड १८ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले २९ करोड ४७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २८ करोड ६५ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरले २६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४३ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार ४९८ रुपैयाँ ३२ पैसा रहेको छ ।

दोस्रो बजारमा कम्पनीको शेयर भाउ १२ हजार ८ सय २५ रुपैयाँ रहेको छ । दोस्रो बजारमा निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा शेयर मूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । बिहिबार अन्तिम कारोबारको दिन कम्पनीको शेयर २२३ रुपैयाँले बढेको छ।

त्यस्तै, दुई महिनाअघि कम्पनीको कम्पनीको शेयर भाउ १६५०० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै, नेपाल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १९ पैसा रहेको छ ।
सबैभन्दा कम प्रतिशेयर आम्दानी भने प्रुडेन्सियल इन्स्योरेन्सको रहेको छ । प्रुडेन्सियलको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९२ पैसा मात्रै रहेको छ ।

यस्तै सबै भन्दा कम प्रतिशेयर नेटवर्थ भने आइएमई जनरल इन्स्योरेन्सको रहेको छ । आइएमई जनरलको प्रतिशेयर प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*