जेठ महिनामा धमाधम पाँच बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

११ जेष्ठ २०८०, बिहीबार १४:२९

काठमाडौं । जेठ महिनामा पाँच बीमा कम्पनीहरुको वार्षिक साधारण सभा धमाधम बस्दैछ । नेशनल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ तीन जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी गरी पाँच कम्पनीको साधारण सभा यसै महिनामा बस्ने भएको हो ।

पाँचमध्ये नेशनल लाइफ र प्रभु लाइफे साधारण सभामार्पmत शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ, भने राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी लाइफ र सानिमा जिआइसीले लाभांश बाहेकका अन्य प्रस्तावहरु साधारण सभामा पेश गर्नेछन् ।

नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा यहि जेठ २२ गते बस्दैछ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

साथै सभामार्फत गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ जेठ ११ गते बुकक्लोज गरिसकेको छ । यसर्थ जेठ १० गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा यही जेठ २६ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बस्दैछ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। सभाले प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ ।

आपसमा मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्योयोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ जेठ १२ गते सार्वजनिक विदा परेको हुँदा जेठ १० गतेसम्म कायम शेयरधनीहरुले सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा यहि जेठ २६ गते शुक्रबार होटल अकामा, धुम्बाराही, काठमाडौंमा बस्दैछ । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सो सभामार्फत सभाले महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्ने प्रस्ताव पेश गर्नेछ । मर्जरपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

साथै सभाले प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ ।

आपसमा मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्योयोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ६ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरण स्वीकृत गर्न जेठ ३१ गते सभा बस्ने निर्णय गरेको हो । सभा काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सो सभाले संचालक समितिको तर्फबाट पेश गर्ने बीमा कम्पनी साविकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)को आव २०६८।६९ २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको लेखापपरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै सो सभामा महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८।६९देखि २०७२।७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, संचालकहरुको आव २०७२।७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना संचालक चयनको लागि निर्वाचन गर्ने साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना संचालक चयनको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गतेदेखि वैशाख ३१ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ जेठ १५ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

सानिमा जिआइसी इन्स्योरेन्स
सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकको निर्णयले वार्षिक साधारणसभा यही जेठ ३२ गते बस्ने भएको हो । सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११(क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी निर्वाचित गर्ने छ ।

साधारणसभाबाट पारित सामान्य तथा विशेष प्रस्स्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*