बीमा सचेतना लिएर डोल्पा पुग्यो बीमा प्राधिकरण, ठूलीभेरी र त्रिपुराकोटमा अन्तरक्रिया सम्पन्न

११ जेष्ठ २०८०, बिहीबार १६:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा यही जेठ ८ गते जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको विशेष आतिथ्यमा सम्पन्न भएको छ । ठूलीभेरी नगरपालिकाका मेयर श्रबर्ण कुमार बुढाको आतिथ्यमा बीमा सचेचना कार्यक्रम सम्पन्न गरेको हो । त्रिपुराकोटमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा ७० जना भन्दा बढि सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया बीमा कम्पनीले डोल्पामा नाम मात्रैको शाखा खोलेको गुनासो गर्दै तत्काल बीमा पोलिसी जारी गर्न सक्ने शाखा कार्यालय स्थापना गर्न आवश्यक पहल गर्न बीमा प्राधिकरणलाई आग्रह गरे । बीमा पोलिसी केन्द्रमा बसेर बनाइएको र नीति नियम यथार्थपरक बनाउन आग्रह गरे । बीमा कम्पनीबाट समयमा सेवा सुविधा नपाउने, बाहनाबाजी गर्ने कार्यको जिम्मेवारी बीमा प्राधिकरणले लिनुपर्ने बताए ।

कार्यक्रममा ठुलीभेरी नगरपालिकाका कार्यकारी अधिकृत सुकदेव लम्सालले बीमा जनतालाई अनिवार्य भएको बताउँदै ठूलीभेरी गाउँपालिकाले सचेतना फैलाएर जनतालाई सहभागिता जनाउने प्रतिबद्धता जनाए ।

 

नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख सोडारीले सेवा प्रवाह गर्ने बीमा कम्पनीहरुको स्तरोन्नती गर्न पहल गर्ने बताए । बीमितलाई सही सचेतना र बीमक कम्पनीहरुको उपस्थिति दरिलो हुनुपर्ने बताए ।

बीमा प्राधिकरणले त्रिपुरासुन्दरी नगरपालिकामा यही जेठ ८ गते बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका मेयर जन चन्द्र रोकाया र उप प्रमुख देवी घर्तीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत जगदिश चन्द्र नेपालीको पनि उपस्थिति रहेको थियो ।

स्थानीय सुशासन रेडियोमार्फत प्रशारण गरिएको कार्यक्रममा स्थानीयबासीले बीमा प्रभावकारी बनाउनुपर्ने बताए । साथै उनीहरुले बीमाबाट सेवा लिन कठिन भएको गुनासो गरेका छन् । स्थानीय किसानले स्याऊ बीमा गरेको र एक वर्ष स्याल नफल्दा शिखर इन्स्योरेन्स बिनाशर्त दावी भुक्तानी गरेकोले बीमाप्रति अविश्वास नगर्न आम जनतालाई आग्रह गरे ।

यसैबीच, सल्यानका कपुरकोट नगरपालिकाका मेयर दुर्गा बहादुर पुनले कृषि बीमा प्रभावकारी बनाउन माग गरे । कृषि बीमाबारे संघीय सरकारले अनुदान दिने कुरा थाहा नभएर पछाडि परेको बताउँदै कृषि बीमाको अभिकर्ता, क्षतिमूल्याङ्कनकर्ता र तालिम आवश्यक भएको बताए । घर बीमा र कृषि बीमा एकैसाथ अघि बढाउने मेयर पुनले बताए ।
मेयर पुनले तत्काल बीमा कम्पनीको शाखा स्थापना गर्न आग्रह गरे ।

कपुरकोट नगरपालिकाका उपमेयर प्रकाश भडारीले आफूले बीमा भुक्तानी पाउन निकै मेहनत गर्नु परेको गुनासो गरे । कपुरकोट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरत कुमार वलीले किसानको भेला आयोजना गरेरै बीमाबारे सचेतना फैलाउने प्रतिबद्धता जनाए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*