निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशनबाटै कमाए ३ अर्बमाथि, शिखरको अग्रता कायमै, बृद्धिदरमा साविक प्रुडेन्सियल इन्स्योरेन्स (तथ्याङ्कसहित)

१३ जेष्ठ २०८०, शनिबार ०७:००

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशन आय ३ अर्ब ३२ करोड रुपैयाँमा कायम भएको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १६ निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशन आय ८.७८ प्रतिशतले घट्न पुगेको हो ।

गत वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ पुनर्बीमामार्फत कमिशन आय गरेका थिए । गत वर्षको तुलनामा यस अवधिसम्म ९ बीमा कम्पनीको यस्तो आय बढेको देखिएको छ, भने बाँकी सात कम्पनीको घटेको छ ।

निर्जीबन बीमा कम्पनीहरुमा पुर्नबीमा कमिशन पनि एउटा प्रमुख आयको सूचक मानिन्छ । यस अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुको यस्तो आय घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई फोर्स मर्जर नीति लागू गरेसँगै बीमा कम्पनीहरुको यस्तो आय घट्न पुगेको देखिएको हो । साथै नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्समा प्रत्यक्ष हिस्सा दिदा पुनर्बीमा कमिशन आय घटेको देखिएको छ ।

स्वदेशमै पुनर्बीमा कम्पनी दुईवटा भएका कारण झनै बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन घट्न पुगेको देखिएको छ । नेपाल रि र हिमालयन रि इन्स्योरेन्स दुईवटा कम्पनी हुँदा निर्जीवन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको संख्या घट्दै गएकोले पनि व्यवसाय बाँडिन पुग्दा यता पुनर्बीमा कमिशन घट्न पुगेको देखिएको छ ।

चैत मसान्तसम्म सबैभन्दा बढी पु्नर्बीमा कमिशन आय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्योरेन्समा सर्वाधिक हवाई बीमा हुने भएको कारणले पनि यस्तो आय बढ्न पुगेको हो । प्लेनको बीमा गर्दा लगभग ९९.९० प्रतिशत नै पुनर्बीमा गरिन्छ । यसकारण शिखरले सो अवधिसम्म पुनर्बीमामार्फत ४८ करोड ५५ लाख रुपैयाँ आय गरेको छ ।

साथै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेनसले ३६ करोड ५ लाख, एनएलजीले २५ करोड ५४ लाख, नेकोले २२ करोड ७३ लाख रुपैयाँ, सानिमा जिआइसीले २२ करोड ५४ लाख र हिमालयन एभरेष्टले २० करोड रुपैयाँ आय आर्जन गरेको छ ।

त्यस्तै, यता बृद्धिदरमा भने साविक प्रुडेन्सियल इन्स्योरेन्सको प्रगति देखिएको छ । गत वर्षको तुलनामा यस अवधिसम्म कम्पनीले यस्तो आय २७.३० प्रतिशतले बढाएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले १३.१४ प्रतिशत, ओरियन्टलले ६.६४ प्रतिशत, युनाइटेडले ४.५० प्रतिशत, साविक प्रिमियरले ४.३१ प्रतिशत, साविक आइएमई जनरलले ४.२६ प्रतिशत, प्रभुले ३.९३ प्रतिशतले पुनर्बीमा कमिशन बढाएको छ ।

त्यस्तै, यता साविक सिद्धार्थ इन्स्योरेन्सको भने सर्वाधिक ४०.६३ प्रतिशतले यस्तो आय घट्न पुगेको छ । त्यस्तै, सगरमाथा लुम्बिनीको ३४.४३ प्रतिशत, हिमालयन एभरेष्टको १३.७७ प्रतिशत, सानिमा जिआइसीको ७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.७५ प्रतिशत र शिखर इन्स्योरेन्सको २.५१ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*