वैशाखमा मात्रै जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत भित्र्याए २ अर्ब ३२ करोड, चार कम्पनीको व्यवसायमा मात्रै सुधार

१७ जेष्ठ २०८०, बुधबार १३:३६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १७ जीवन बीमा कम्पनीले वैशाख महिनामा मात्रै २ अर्बमाथिको नयाँ व्यवसाय भित्र्याएका हुन् ।

कम्पनीहरुले वैशाखमा नयाँ व्यवसायमार्फत संकलन गरेको उक्त शुल्क चैत महिनाको तुलनामा भने ६.३८ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४८ करोड प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

अघिल्लो महिनाको तुलनामा वैशाख महिनामा अधिकांश बीमा कम्पनीहरुको नयाँ व्यवसाय खस्किएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा कम्पनीहरुको नयाँ व्यवसायमा समेत धक्का पर्न गएको हो । चैत महिनाको तुलनामा वैशाखमा ४ वटा कम्पनीको मात्रै प्रथम बीमा शुल्क आर्जन बढेको छ, भने बाँकी १३ कम्पनीको व्यवसाय घट्न पुगेको छ ।

वैशाख महिनामा सबैभन्दा नयाँ व्यवसायबाट बढी प्रिमियम उठाउने कम्पनीमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले वैशाखमा मात्रै ४३ करोड ७ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ । त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा संस्थानले ३७ करोड ८३ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियमक कलेक्सन गरेको छ ।

साथै यता बृद्धिदरमा समेत संस्थानकै प्रगति देखिएको छ । चैत महिनाको तुलनामा संस्थानले ७६६.७३ प्रतिशत बढीले प्रथम बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । त्यस्तै, दोस्रोमा सानिमा रिलायन्स लाइफले पनि चैतको तुलनामा वैशाखमा ४७.६७ प्रतिशतले फर्स्ट प्रिमियम कलेक्सन बढाएको छ । त्यस्तै, सिटिजन लाइफको ७.०३ प्रतिशत र सन नेपाल लाइफको ४.९१ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*