शेयर लगानीकर्ताहरुले गरे काठमाण्डौमा रहेका ५० वटा ब्रोकर कार्यालयहरुमा तालाबन्दी

२१ जेष्ठ २०८०, आईतवार १०:३१

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैबाट काठमाण्डौका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटिएका थिए। स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले यस्तो जानकारी दिएको हो ।

आफूहरुले उठाएको माग पूरा नभएसम्म ब्रोकर कार्यालयहरु खोल्न नदिने र सेयर कारोबार पनि हुन नदिने कार्कीले स्पष्ट पारे। ‘यदि कसैले ब्रोकर कार्यालयको ताला खोल्ने कोसिस भएमा त्यसको प्रतिवाद हुनेछ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं सरकार र ब्रोकर सञ्चालकले लिनुपर्नेछ’, उनले भने।

आर्थिक विधेयकको २९ नं। बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७।५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।

आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९।९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए ।

त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*