लगानीकर्ताको माग सम्बोधन, पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्।
आज लगानीकर्ताहरुसँग भएको भेटवार्तामा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’, उनले भने, ‘सोहीबमोजिम अर्थ मन्त्रालयले एउटा स्टेटमेन्ट जारी गर्नेछ।’
माग सम्बोधन भएसँगै आज नै केहीबेरमा शेयर कारोबार सुचारु हुने भएको छ। शेयर लगानीकर्ताले उठाएका माग नै सम्बोधन हुनेगरि सहमति तथा सम्झौता भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए उनकाअनुसार आजनै शेयर कारोबार सुचारु हुनेछ।
यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो।
छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशन, सेबोनका अध्यक्ष, नेप्सेका सिईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति छ।
आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्।