हकप्रद निष्काशन प्रस्तावसहित सिंगटी हाइड्रोले डाक्यो साधारण सभा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो । कम्पनीले असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साथै सो सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।