प्रधानमन्त्री प्रचण्डको छ महिने त्यो स्कूलिङ: तस्करी र राजश्वमाराहरुका विरुद्धमा फायर खोल्दै सह-सचिव नबराज ढुंगाना

६ श्रावण २०८०, शनिबार १२:०३

काठमाडौं । सह-सचिव नबराज ढुंगाना इमान्दार छविका कर्मचारी थिएनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी पाए लगत्तै उनका विषयमा सञ्चार माध्यमहरुमा समाचार पनि बने । प्रधानमन्त्री प्रचण्डसँग छ महिनासँगै काम गरेका उनै सह सचिव नबराज ढुंगाना अहिले हाई हाई छन् । विमानस्थलको भन्सारबाट बाहिरीसकेको १०० केजी भन्दा बढि सुन तस्करी घटनाको पर्दाफास मात्रै गरेनन्, त्यसको र्याकेट टिम छिन्नभिन्न पार्ने कार्यमा नबराज ढुंगाना सम्झौताहिन अभियान चलाइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा जानु अघि जताततै मालदार ठाउँमा मात्रै आँखा लगाउने लगाउने गर्दथे सह-सचिव ढुंगाना । पोखरा महानगरपालिकामा हुँदा जग्गा काण्ड घटाएका ढुंगानाले मातृका यादव वन मन्त्रालयमा हुँदा त्यहाँ पनि काम गरेका थिए । महालेखा नियन्त्रणको कार्यालयमा समेत बसे । उतिबेला कर्मचारी सरुवा गर्दा रकम असुलेको भन्दै अख्तियारमा ढुंगाना विरुद्धमा उजुरी नै परेको थियो । ढुंगानाका अधिकांश ठाउँमा विवादमा परेका व्यक्ति थिए । त्यसैले उनको छवी कर्मचारी वृत्तभित्रै पनि राम्रो थिएन । सामान्यतया प्रधानमन्त्रीका निजि सचिवमा उप सचिव राख्ने चलन थियो । तर, प्रधानमन्त्री प्रचण्डले उक्त क्रमलाई भंग गर्दै सह-सचिवलाई निजि सचिवको रुपमा नियुक्त गर्नुभयो । सो कार्यमा बसेरा होटलका मालिक बिशाल पण्डितहरुको समेत भूमिका रहेको चर्चा उतिबेला नै चलेको थियो ।

नयाँ निर्वाचन लगत्तै प्रधानमन्त्रीमा निर्वाचित भएपछि नवराज ढुंगानालाई २०७९ साल पुस १४ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । २०७९ साल पुस २० गते प्रमुख स्वकिय सचिवमा नियुक्त भएका ढुंगानाले यही असारको तेस्रोसातासम्म प्रधानमन्त्री कार्यालयमै रहेर प्रधानमन्त्री प्रचण्डसँग काम गरे ।

विवादित छवी, सधै मालदार ठाउँमा सबेका सह-सचिव ढुंगानाले छ महिना प्रधानमन्त्री प्रचण्डको सँगको संगतमा प्रचण्डमा रहेको केही गरौं भन्ने हुटहुटी र जीवनको सार्थकतालाई नजिकबाट बुझे । सह-सचिव ढुंगानाले प्रधानमन्त्री प्रचण्डको संघर्षसँग साक्षात्कार हँुदै देशका भ्रष्टाचार, दलाल र तस्करहरुलाई कसरी तह लगाउनुपर्दछ भन्ने स्पष्टकुरा बुझिसकेका थिए । नेपालमा जनवादी क्रान्ति गर्ने भन्दै कठिन संघर्ष रोजेका प्रचण्डसँगको संगत र स्कूलिङबाट ढुंगाना बदलिसकेका थिए । सेटिङ, मालदार भनेपछि फास्ट मुभ गर्ने ढुंगाना अब सेटिङ भत्काएर देशको लागि केही गरौं भन्ने भावना जागिसकेको थियो ।

असारको तेस्रो साता ढुंगानालाई राजश्व अनुसन्धान विभागको प्रमुखको जिम्मेवारीसहित सरुवा गरियो । उनको कार्यभार सम्हाले । लगत्तै सूचना पाए नेपालमा ठूलो मात्रामा सुन तस्करी हुँदैछ ।

१०० केजी सुनको मूल्य झण्डै एक अर्ब हुन्छ । त्यति ठूलो सुन भन्सार चेक गरेर विमानस्थलबाट बाहिरीसकेको थियो । ढुंगानाले पूर्व सूचना नपाएको भए र प्राप्त सूचनामा अलिकति पनि ढिलाई गरेको भए वा थोरै मात्रै पनि र्याल चुहाएको भए १०० भन्दा बढि सुन सिधैं तस्करको गोदाममा पुगेर देश देशान्तर वितरण भइसक्ने थियो । अर्थात तस्करले भित्राएको सुन पच्ने थियो ।

 

तर, प्रधानमन्त्री प्रचण्डसँग छ महिना गरेर जनताको पक्षमा दृढ भइसकेको ढुंगानाले तस्करको र्याकेट ध्वस्त पार्नुपर्ने दायित्वबाट कही कतै च्यूत भएनन् बरु दृढतापूर्वक सरकारको शिर उच्च हुने गरी देश र जनताको पक्षमा काम गरेरै छोड्न छापामार रणनीति बनाए, टोली परिचालन गरे, अनि आफै पनि खटिए । अन्ततः सुन समातियो ।

घटना त्यति मात्रै सीमित भएन, राजश्व अनुसन्धान विभागका प्रमुख ढुंगानाले छापामार शैलीमा सुन समातेका थिए । विमानस्थलबाट ट्याक्सीमा राखेर बाहिरिएको सुन कता पुग्यो समेत कसैले चाल पाएका थिएनन् । तस्कर सुन कुरिरहेको थिए । तर, सुन बाटोबाटै बेपत्ता भएको थियो । सुन पक्राउ गरेको २२ घण्टासम्म कुनै पनि सञ्चार माध्यम वा अन्य कुनै निकायले समेत चाल पाएनन् । त्यसअवअधीमा र्याकेट समुह पक्राउ गरी सक्रिय भइरहे । अप्रेसन एउटा निष्कर्षमा पुगेपछि मात्रै बाहिर आम सञ्चार माध्यममा समाचारका हेड लाइन बन्न पुगेका थिए । यस पटक राजश्व अनुसन्धान विभागले गरेको एक्सनले माफियाले राजनीतिक सेटिङ मिलाउने मौका समेत पाएन भने चलखेल गर्ने समेत मौका नदिई र्याकेट ग्रुप ध्वस्त पार्ने योजना अन्ततः सफल भयो ।

ढुंगाना राजश्व अनुसन्धान विभागमा हुँदासम्म नेपालमा राजश्व छलीमा संलग्नहरु अब यसै गरी लाइन लगाएर तह लगाउने विश्वास गरिएको छ । कर छली, भन्सार छली गर्ने देशका ठूला व्यापारिक घरानाहरुको अब गुन्जायस नहुने देखिएको छ । शुक्रबारको अर्थ समितिको बैठकमा सांसदले कुरा उठाए बैंकबाट सबैभन्दा धेरै ऋणी लिने, कर तिर्नेको सूचिमा सबैभन्दा पुछारमा नाम हुने, बार्षिक अर्बौको कारोबार गर्ने तर केही लाख मात्रै राज्यलाई कर तिरेर छली गर्नेहरु राजश्व अनुसन्धान विभागको १०० केजी सुन काण्ड जस्तै दायरामा आउने विश्वास गर्न थालिएको छ ।

विद्युतीय बिल बिजकमा हुने घोटाला, नक्कली भ्याट बिल काण्डमा परेका ४३६ वटा पुरानो फर्मको फाइल खुल्ने विश्वास समेत गरिएको छ । त्यस्तै, एब्रिबेशन बिलको नाममा बस्तु तथा सेवाहरु टुक्राएर बिल जारी गर्दै सरकारलाई ठगी गर्ने गिरोह समेत अब राजश्व अनुसन्धानको दायरामा ल्याउनुपर्ने दायित्व उनै सह-सचिव ढुंगानाको काँधमा आइपरेको छ । त्यस्तै, बोरामा प्याक हुने सिमेन्टलाई बंकरसहितको ट्रकमा लोडेर गरेर भइरहेको राजश्व छली समेत कानुनी दायरामा आउने विश्वास गरिएको छ । मोटरसाइकल एसेम्बलको नाममा भइरहेको राजश्व छली पनि अब विभागको अनुसन्धानको विषय बन्नुपर्नेछ भने बैंकहरुले गर्ने राजश्व छली सम्बन्धमा पनि गहन छानविन गर्न स्पेशल टोली नै परिचालन गर्नुपर्ने देखिएको तर्फ विभागका ध्यान जान आवश्यक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*