नेपालमा फ्रिक्वेन्सी नै नमिल्ने लाखौं मोबाईल फोन बिक्री, एनटिसीमा राम्रोसँग चल्दैनन सामसङ–रेडमी–भिभो–वानप्लस ब्राण्डका सेटहरु

२५ श्रावण २०८०, बिहीबार ०८:३४

काठमाडौं । नेपालको बजारमा बिक्री वितरण हुँदै आएका मोबाइल सेटहरु नेपालमा सञ्चालित दुर सञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सीसँग म्याच नै नगर्ने तथ्य फेला पारेको छ । मोबाइल आयातकर्ताहरुको लापरवाही र घुस सेटिङमा आयात गरिएको गुणस्तरहिन मोबाइल सेटको निर्वाध बिक्री वितरणका कारण उपभोक्ताले हजारौं रुपैयाँ तिरेर किनेको मोबाईल सेट दुर सञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सीसँग म्याच नगरी स्पष्ट भ्वाईस नआउने, फोरजी इन्टरनेट नचल्ने समस्या रहेको तथ्य बीमापोष्टले फेला पारेको छ ।

सरकार, नियामक, दुरसञ्चार सेवा प्रदायक र मोबाइल आयातकर्ताको लापरवाहीका कारण हजारौं लाखौं तिरेर किनिएका मोबाइल सेट सरकारी लगानीको नेपाल टेलिकमको ब्याण्ड २० (८०० मेगाहर्ज) फ्रिक्वेन्सीसँग मेल नखाने नेपाल दुर सञ्चार प्राधिकरणले स्वीकार गरेको छ । नेपाल टेलिकमले फोरजीमा ब्याण्ड ३ १८०० मेगाहर्ज र ब्याण्ड २० ८०० मेगाहर्जको फ्रिक्वेन्सीमा मोबाइल सेवा प्रदान गर्दै आएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले तीन वर्षअघि सो फ्रिक्वेन्सी प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो ।

मोबाइल आयातकर्ताहरुले भारतमा निर्मित फोन ल्याएर बजारमा बिक्री वितरण गर्दै आएका छन् । एउटै ब्राण्डका फोन चीनमा निर्मित र भारतमा निर्मितमा फरक फरक प्रिक्वेन्सी राखिएको छ । भारतमा ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज प्रयोगमा नभएकोले भारतमा एसेम्बल गरिएको मोबाइल उक्त ब्याण्ड राखिएको छैन । तर, सोही ब्राण्डको मोबाईल सेट चीनमा निर्मित भएमा ८०० ब्याण्ड समेत समावेश गरिएको छ । हाल बजारमा चीनमा निर्मित मोबाइल सेट नपाउने अवस्था छ । सबै आयातकर्ताहरुले भारतबाटै मोबाइल सेट ल्याएका छन् । यसको परिणाम नेपाल टेलिकमको सिमकार्डमा घरभित्र टावर नटिप्ने, टिपे पनि गुणस्तरीय नहुने तथा डाटा नचल्ने समस्या उपभोक्ताले भोग्दै आएका छन् ।

बजारमा चलेका सामसङ, रेडमी, रियलमी, वान प्लस, भिभो लगायतका ब्राण्डका मोबाइल सेटहरु भारतमा निर्मित आयात गरेर बजारमा बिक्री वितरण हुँदै आएको छ । मोबाइल आयातकर्ताहरु मध्ये एक व्यवसायीले आफूहरुले थाहा नपाएर यस्तो गरेको प्रिक्वेन्सी नमिलेको मोबाइल सेट ल्याउने कुनै उद्देश्य नभएको स्पष्ट पारेका छन् । बीमापोष्टसँग सम्पर्कमा आएका तर आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ति व्यवसायीले नियामक निकायसँग गुनासो गर्दै नेपाल दुर सञ्चार प्राधिकरणले घुस सेटिङमा आयात गर्न अनुमति दिएको आरोप लगाएका छन् । उनले भने, ‘हामीले त व्यवसाय गर्ने हो, हरेक नयाँ मोडलको फोन आयात गर्नुअघि नेपाल दुर सञ्चार प्राधिकरणमा विस्तृत परिक्षण रिपोर्ट बुझाउनुपर्छ प्रिक्वेन्सी नै निमल्ने फोन कसरी आयात गर्न दिइयो ?’ व्यवसायीहरुले मोबाइल सेट म्यानेजमेन्टको काम समेत नेपाल दुर सञ्चार प्राधिकरणले गर्दै आएकोले फ्रिक्वेन्सी नमिलेको विषय आयातकर्तालाई दोष लगाएर नेपाल भित्राइसकेको सेट निर्वाधि विक्री वितरण गर्न पाउनुपर्ने बताए ।


प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले फ्रिक्वेन्सी नमिल्ने मोबाइल सेट आयातको विषय प्राधिकरणले नहेर्ने बताए । उनले दुर सञ्चार सेवा प्रदायक आफैले आफ्ना उपभोक्तालाई सचेत बनाउनुपर्ने प्राधिकरण अध्यक्ष खनालको भनाई छ । उनले भने, ‘फ्रिक्वेन्सी मिल्छ कि मिल्दैन हामीले हेर्ने होइन उपभोक्ता आफै सचेत हुनुपर्दछ ।’
उता, नेपाल टेलिकमले भने सो सम्बन्धमा जानकारी भएर पनि केही गर्न नसकिएको भन्दै पन्छिएको छ । नेपाल टेलिकमले दुई वर्ष पहिले एउटा सामान्य सूचना जारी गरेर फ्रिक्वेन्सी मिल्ने मोबाइल फोन आयात गर्न अनुरोध गरेको सम्म मात्रै भेटिएको छ ।

हाल बजारमा बिक्री वितरण भइरहेको मोइबाल सेटहरु निजि दुर सञ्चार सेवा प्रदायक एनसेलसँग मात्रै फ्रिक्वेन्सी मिल्ने देखिएको छ । बजारमा बिक्री वितरण भइरहेको मोबाइल सेटहरु आयात गर्नुअघि वृहद सेटिङमा आयात गरिएको आशंका गरिएको छ ।

 

 

2 thoughts on “नेपालमा फ्रिक्वेन्सी नै नमिल्ने लाखौं मोबाईल फोन बिक्री, एनटिसीमा राम्रोसँग चल्दैनन सामसङ–रेडमी–भिभो–वानप्लस ब्राण्डका सेटहरु

  1. अम्बल भट्टराई says:

    मेरो samsung M12 मा पनि त्यस्तै समस्या छ । टावरकै नजिकै घर भए पनि घर भित्र राम्रो नेट चल्दैन।

  2. मनोज मुलिचा says:

    नेपाल टेलिकमले हाम्रो जिम्मेवारी हैन,हामी केही गर्न सक्दैनौ जस्ता शब्द प्रयोग गर्नु नै नाजायज छ।किनकि नियामक संस्था नेपाल टेलिकम नै हो,नेपाल टेलिकमले नै मोबाइल आयातको व्वस्थापन गर्छ भने स्वयं प्रयोगकर्ता सचेत रहनु पर्छ भनेर पन्छिन पाउदैन र सबै मोबाइल प्रयोगकर्ता यस बिषयमा जानकारी नै नभएका छन् भने नेपाल टेलिकम घुस मात्र खाएर बस्ने हो? हामी नागरिकको प्रश्न?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*