वित्तिय विवरणमा एशियन लाइफः ३७ अर्बको कोष, व्यवसाय स्थीर, नाफामा उछाल

२९ श्रावण २०८०, सोमबार ०८:३३

काठमाडौं । एशियन लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, जगेडा कोषसहित समग्र कोषमा ३७ अर्ब भन्दा बढि संचिती रहेको छ ।
कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको देखिएको छ । गत आवमा कम्पनीको मुनाफा ८९.६२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २६ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले गत आवमा ४९ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आवको अन्त्यमा जम्मा ३१ अर्ब रहेकोमा एक वर्षमा १६.८० प्रतिशतले बृद्धि भएको हो ।
कम्पनीको जगेडा कोष ५७.८३ प्रतिशतले घटेर ६९ करोडबाट २९ करोडमा झरेको छ । त्यस्तै, महाविपत्ति कोषको रकम १५ करोडबाट बढेर १७ करोड पुगेको छ ।

कम्पनीको व्यवसाय गत वर्षको तुलनामा स्थीर देखिएको छ । अघिल्लो आवमा छ अर्ब ८३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको कम्पनीको गत आवको अन्त्यसम्ममा कूल छ अर्ब ८४ करोड अर्थात ०.१० प्रतिशतको मात्रै बृद्धि देखिएको छ ।

 

कम्पनीको खुद दावी भुक्तानी उल्लेख्य मात्रामा बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद दावी भुक्तानी ८० प्रतिशतले बृद्धि भई एक अर्ब ५७ करोडबाट दुई अर्ब ८५ करोड नाघेको छ ।
कर्जा लगानी, बीमालेख धितोमा कर्जा अन्य आयबाट प्राप्त कूल आय ३३.३३ प्रतिशतले बृद्धि भई दुई अर्ब ७२ करोडबाट बढेर तीन अर्ब ६३ करोड नाघेको छ । त्यस्तै, व्यवस्थापन खर्च १५ प्रतिशतले घटेर ८२ करोडबाट ७० करोडमा झरेको छ ।

बीमा अभिकर्ताले पाउने कमिशन घट्दै गएको देखिएको छ । कम्पनीको अघिल्लो आवको तुलनामा बीमा अभिकर्ता कमिशन १३.४६ प्रतिशतले घटेर ८२ करोडबाट ७१ करोडमा झरेकोछ ।
कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या ४४.२७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा चार लाख ३७ हजार ४२ वटा बीमा पोलिसी रहेकोमा गत आवको अन्त्यसम्म आईपुग्दा छ लाख ३० हजार ५३८ वटा बीमा पोलिसी कायम रहेको वित्तीय विवरणमा देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*