सूर्यज्योति लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो

२९ श्रावण २०८०, सोमबार १०:३७

काठमाडौं । सूर्यज्योति लाइफले गत आवको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको छ ।
कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीमा गरी कूल २० अर्ब ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो । कम्पनीको समग्र जगेडा कोष ३५.०४ प्रतिशतले बृद्धि भई २९ अर्ब ८० करोडको शक्तिशाली कोष बनाउन सफल भएको छ ।

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको सुर्यज्योति लाइफको खुद बीमा शुल्क आम्दानी सामान्य अंकले घटेर आठ अर्ब ५४ करोडबाट आठ अर्ब ५१ करोडमा झरेको छ । त्यस्तै खुद दावी भुक्तानी उल्लेख्य बृद्धि भई एक अर्ब ४२ करोडबाट दुई अर्ब चार करोडमा पुगेको छ ।

कम्पनीको कर्जा लगानी तथा अन्यबाट प्राप्त आम्दानी ११.९३ प्रतिशतले बृद्धि भई दुई अर्ब २३ करोडबाट बढेर दुई अर्ब ५० करोड पुगेको छ । त्यस्तै, व्यवस्थापन खर्च ९६ करोडबाट घटेर ८९ करोडमा झरेको छ ।
कम्पनीका अभिकर्ताले पाउने कमिशन १७.७९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एक अर्ब ११ करोड कमिशन बापत अभिकर्ताले बुझेकोमा गत आवमा ९१ करोड रुपैयाँ मात्रै अभिकर्ताले कमिशन बापत रकम पाएका छन् ।
त्यस्तै कम्पनीको खुद नाफा २३.१८ प्रतिशतले बृद्धि भई ३७ करोडबाट बढेर ४६ करोड नाघेको छ । यद्यपि बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै वास्तविक रुपमा आउनेछ ।

कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या पाँच लाख ४४ हजार ८१९ बाट बढेर ११ लाख ३० हजार ५७५ पुगेको छ । कूल चुक्ता पुँजि चार अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.१३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७८४.८२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*