मर्जरपछि सिद्धार्थ प्रिमियरको व्यवसाय खस्कियो, चुक्ता पुँजी बाहेकका सबै सूचांकमा गिरावट

३० श्रावण २०८०, मंगलवार ०९:३५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

साबिकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ को व्यवसायमा उल्लेख्य मात्रामा गिरावट आएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । दुई कम्पनीको अघिल्लो वर्षको वित्तीय विवरणको तुलनामा गत आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ६८ करोड ५० लाख रुपैयाँबाट घटेर ३६ करोड ३५ रुपैयाँमा सीमित भएको छ । अघिल्लो आथिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ४६ दशमलव ६६ प्रतिशतले घटेको छ ।

गत असार मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि गिरावट आएको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन १ अर्ब ७७ करोडबाट १ करोड १४ करोड रुपैयाँमा सीमित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३५ दशमलव ५८ प्रतिशतले कम हो ।

कम्पनीको समग्र व्यवसाय दर्शाउने कूल बीमा शुल्क आम्दानी उच्च अंकले गिरावट आएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवमा दुई कम्पनी मिलेर आर्जन गरेको चार अर्ब ७२ करोड कूल बीमा शुल्क मर्जर पश्चात बनेको कम्पनीले जम्मा दुई अर्ब ७८ करोडमा सीमित भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क ४१.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै, कम्पनीको खुद बीमा दावी भुक्तानी पनि घटेको देखिएको छ । प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको यस्तो भुक्तानी ८० करोड ३१ लाख रुपैयाँबाट घटेर ७९ करोड ८० लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो आवको तुलनामा ० दशमलव ६४ प्रतिशतले कम हो । कम्पनीको दावी भुक्तानीमा घट्नुमा कुशल व्यवस्थापन नरहेको देखिएको छ ।

समीक्षा अवधिमा लगानी कर्जा आयबाट कम्पनीले ८७ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । यसका साथै गत असार मसान्तसम्ममा कम्पनीले ४७ करोड २ लाख रुपैयाँ मात्रै व्यवस्थान खर्चमा खर्चिएको देखिएको छ । मर्जरपछि कर्मचारी कटौति, शाखा बन्द जस्ता कारणले व्यवस्थापन खर्च घटेको हो । जसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको देखिएको छ । कम्पनीको व्यवस्थापन खर्च ३१.३६ प्रतिशतले घटेको छ ।

कम्पनी मर्ज भएपश्चात बीमा पोलिसीको संख्यामा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको बीमा पोलिसी ३ लाख ३५ हजार ८२८ बाट घटेर २ लाख ७ हजार ५९५ मा सीमित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३८ प्रतिशतले कम हो ।

त्यस्तै, कम्पनीको बीमा कोषको आकारमा बृद्धि देखिएको छ । अघिल्लो आवमा दुई अर्ब ५० करोड रुपैयाँ रहेको बीमा कोष समिक्षा अवधिमा यस्तो कोषको आकार १४.२१ प्रतिशतले बृद्धि भई समग्र कोषमा ३ अर्ब ५३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*