सन नेपाल लाइफको व्यवसायमा उल्लेख्य प्रगति, व्यवसाय, मुनाफा र जीवन बीमा कोषमा उल्लेख्य बृद्धि

३० श्रावण २०८०, मंगलवार ०९:५२

काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्दै गरेको सन नेपाल लाइफको गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले मुनाफामा छलाङ मार्न सफल भएको छ भने व्यवसाय र जीवन बीमा कोष दुवैमा उल्लेख्य बृद्धि भएको छ ।

कम्पनीको जीवन बीमा कोष ४३.१६ प्रतिशतले बृद्धि भई तीन अर्ब ५१ करोडबाट पाँच अर्ब तीन करोड नाघेको छ । त्यस्तै, जगेडा कोष र महाविपत्ति कोष ६९.२८ प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार छ अर्ब छ करोड ४३ लाख नाघेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय २८.०१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क बृद्धि भई दुई अर्ब ५४ करोडबाट बढेर तीन अर्ब २५ करोड नाघेको छ ।
त्यस्तै, बीमा दावी भुक्तानी ४१ करोड ७९ लाखबाट बढेर ९१ करोड पुगेको छ । नयाँ कम्पनी भएकोले सन नेपाल लाइफको खुद दावी भुक्तानी बढेको हो ।

कम्पनीले लगानी, कर्जा लगानी तथा बीमालेख धितोमा कर्जा बापतको आम्दानी उल्लेख्य बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षमा ४५ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ३२.६९ प्रतिशतले बृद्धि भई ६० करोड १६ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च १९ प्रतिशतले घटेर ५३ करोडबाट ४३ करोडमा झरेको छ । व्यवस्थापन खर्च कटौति गर्दै बढि प्रतिफल हुने क्षेत्रमा लगानी गर्न व्यवस्थापनको कुशलताको कारण कम्पनीको मुनाफा र जीवन बीमा कोष दुवैमा उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ ।

कम्पनीको मुनाफा १६३ प्रतिशतले बृद्धि भई २१ करोडबाट बढेर ५६ करोड पुगेको छ । त्यस्तै कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या बढेर चार लाख ४१ हजार ८६९ बाट बढेर पाँच लाख २६ हजार ७५६ पुगेको छ ।
समग्रमा कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सिंगो देश आर्थिक संकटको महामारीमा परिरहेको बेला कम्पनीले व्यवसाय सञ्जाल विस्तार र मुनाफा दुवैमा उल्लेख्य सफलता हासिल गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*