वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष

३१ श्रावण २०८०, बुधबार ०८:२१

काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु उत्कृष्ट देखिएको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार १८.६० प्रतिशतले बृद्धि भई ६० अर्ब २५ करोड नाघेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा जम्मा ५० अर्ब संचिती रहेको थियो । जगेडा कोष र महाविपत्ति कोषसहित कम्पनीको कूल कोषको आकार ६१ अर्ब नाघेको छ ।

कम्पनीको बीमा व्यवसाय थप फराकिलो भएको देखिएको छ । आर्थिक संकटका बीचमा नेशनल लाइफले १३.१४ प्रतिशत व्यवसाय थप विस्तार गर्न सफल भएको तथ्याङ्कमा देखिएको छ । अघिल्लो आवमा १४ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले गत आवमा १५ अर्ब ९७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको दावी भुक्तानी २९ प्रतिशतले बृद्धि भई छ अर्बबाट बढेर सात अर्ब ८१ करोड नाघेको छ ।

समीक्षा अवधीमा कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी १९.६७ प्रतिशतले बृद्धि भई चार अर्ब ७६ करोडबाट बढेर पाँच अर्ब ६९ करोड पुगेको छ । कम्पनीले बीमा व्यवसायबाट आर्जित रकम संचित गरी बनेको विशाल कोष परिचालन गरेरै पाँच अर्बभन्दा माथि आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले व्यवस्थापन खर्च घटाएर एक अर्ब ३४ करोडबाट एक अर्ब २२ करोडमा झार्न सफल भएको छ । व्यवस्थापन खर्च घटाउनु, लगानीबाट प्राप्त आम्दानी बढाउन सफल हुनु तथा आर्थिक संकटका बीचमा पनि बीमाको व्यवसायमा उछाल ल्याउन सक्नुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन सफल भएको तथ्याङ्कले औल्याएको छ ।

कम्पनीको खुद नाफा ७३ करोडबाट ३६ करोडमा झरेको छ । यद्यपि बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ३० प्रतिशतले बृद्धि भई १३ लाखबाट बढेर १७ लाख ५१ हजार ३६१ पुगेको छ । कूल पाँच अर्ब चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स हालसम्म देशको तेस्रो ठूलो जीवन बीमा कम्पनी हो । बृद्धिदरको आधारमा अबको केही वर्षमै पहिलो हुने लक्षण देखाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.२७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४०६.८७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*