नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुपले लगानीको हिस्सा घटाउदै, ३२ करोड रुपैयाँको संस्थापक शेयर बिक्रीमा

३१ श्रावण २०८०, बुधबार २०:३३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो लगानीकर्ता बिशाल ग्रुपले आफनो हिस्सा घटाउने भएको छ । ठूला व्यापारिक घराना विशाल गुप्र नेपाल पुनर्बीमा कम्पनीमा रहेको शेयर मध्ये करिब एक तिहाई बिक्री गर्न लागेको हो ।
अर्थतन्त्रमा देखिएको संकुचनका कारण नगद प्रवाहमा समस्या भोग्दै आएको विशाल ग्रुपले विभिन्न कम्पनीमा भएको सेयर धमाधम बिक्री गरिरहेको छ । कूल ३५ लाख कित्ता शेयर मध्ये विशाल ग्रुपले कम्पनीमा आफनो स्वामित्वमा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर प्रतिकित्ता ३३५ रुपैयाँका दरले बिक्रीमा राखेको छ । त्यसका ३५ दिनभित्र पुनर्बीमा कम्पनीका अन्य संस्थापक सदस्यले आवेदन दिन सक्नेछन् ।
बीमकको संस्थापक सेयर कारोबार (खरिद–बिक्री) सम्बन्धी निर्देशिका २०७७ को दफा ११ को उपदफा १ बमोजिम कुनै संस्थापकले सेयर बिक्री गर्न चाहेमा विद्यमान संस्थापक सेयरधनी पहिलो हकवाला हुनेछन् । यदि कुनै संस्थापक सेयरधनीले ३५ दिनभित्र किन्न आवेदन नदिएमा मात्रै अन्य व्यक्ति तथा कम्पनीले उक्त सेयर किन्न पाउनेछन् ।

उल्लेखित सेयरको न्यूनतम मूल्यमा सेयर बिक्री गर्दा ग्रुपले सेयर बिक्रीबाट ३३ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । पुनर्बीमा कम्पनीको घट्दो व्यवसायक प्रगति र प्रतिफलका कारण व्यवसायिक घरानाले उक्त सेयर बिक्री गर्न लागेको देखिएको छ ।

नेपाल पुनर्बीमा कम्पनी गत वर्षदेखि लगातार घाटामा जाँदैछ । गत आवको दोस्रो त्रैमाससम्म नेपाल रि को खुद नाफा १० लाख ३७ हजारले घटेर २९ करोड २४ लाख ६७ हजारमा खुम्चिएको तथ्याङ्क छ । यस्तै खुद बीमाशुल्क पनि दुई अर्ब १५ करोडले घटेर दुई अर्ब ८० करोड ७१ लाखमा खुम्चिएको छ । आव २०७६/७७ र आव २०७७/७८ मा पुनर्बीमा कम्पनीको खुद नाफा सवा अर्ब नजिक थियो । आव २०७८÷७९ मा घटेर ५६ करोड ५० लाखमा खुम्चिएको अवस्था छ ।
पछिल्लो दुई वर्षहरुमा कम्पनीले ५ प्रतिशतका दरले मात्र लाभांश वितरण गरेको छ । कम्पनीले आव २०७६।७७ मा मात्रै कम्पनीले १९ प्रतिशत लाभांश वितरण गरेको थियो । आगामी दिनमा नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिन नसक्ने विश्लेषणसँगै नेपाल पुनर्बीमा कम्पनीको शेयर बिशाल ग्रुपले बिक्री गर्न लागेको हो । नेपाल पुनर्बीमा कम्पनीमा विशाल ग्रुपको ३५ लाख २२ हजार २२७ कित्ता सेयर लगानी रहेको छ । जुन कम्पनीको कुल सेयरको ३.०२ प्रतिशत बराबरको हो ।

उक्त संख्यामध्ये विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बिक्री गर्न चाहेको १० लाख कित्ता सेयर बिक्रीपछि नेपाल रि इन्स्योरेन्समा बिशाल ग्रुपको २५ लाख २२ हजार २२७ कित्ता बाँकी रहनेछ । सेयर बिक्रीपछि विशाल ग्रुपको सेयर हिस्सा २.१६ प्रतिशतमा झर्नेछ भने राष्ट्रिय बीमा कम्पनी दोस्रो ठूलो सेयरधनी बन्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*