बीमितको हत्या गरी बीमा रकम बाँडचुड, बीमा कम्पनीदेखि बीमा अभिकर्तासम्मलाई भागबण्डा

१ भाद्र २०८०, शुक्रबार २१:०८

काठमाडौं । बीमितको हत्या गरी बीमा रकम भागबण्डा गर्ने अपराधको डरलाग्दो पाटो बाराकी हजरा खातुन हत्या काण्डसँगै उजागर भएको छ । भयावह र डरलाग्दो परिदृष्य तब देखियो जब एउटी महिलाको हत्या गरी एक करोड दुई लाख रुपैयाँ बीमा दावी रकम महिलाकी श्रीमान, हत्यामा सघाउने व्यक्ति तथा बीमा कम्पनीकै बीमा अभिकर्ता र बीमा कम्पनी स्वयम् भागबण्डामा सामेल भयो । हो, बाराकी हजरा खातुनको हत्यापछि झण्डै १० महिना लामो बीमा दावी भुक्तानी प्रक्रियापछि गत असार ३१ गते एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको नाममा भुक्तानी गरेको एक करोड दुई लाख रुपैयाँ हत्या गरिएकी हजरा खातुनकी श्रीमान नाथु देवान, एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता नाजिर अन्सारी र बीमा कम्पनी एशियन लाइफले मिलेर बाँडचुड गरेको तथ्य फेला परेसँगै जीवन बीमाको डरलाग्दो पटाक्षेप पर्दाफास भएको हो ।

हजरा खातुनको निधन भएको घटनाको सम्बन्धमा २०८० असार ३१ गते एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी दिए लगत्तै सो रकम बाँडचुड गरेको तथ्य फेला परेको छ । रोचक कुरा के छ भने महिलाको हत्यापछि भुक्तानी गरिएको एक करोड दुई लाख दावी भुक्तानी रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रत्यक्ष संलग्नतामा बाँडचुड गरिएको तथ्य बीमापोष्टले फेला पारेको छ ।

हजरा खातुनको योजनाबद्ध तरिकाले २५ र २५ लाख गरी कूल ५० लाख रुपैयाँको दुई बीमा पोलिसी एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट लिइएको थियो । गत भदौंमा योजनाबद्ध तरिकाले एशियन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता र नाजिर अन्सारी र आफ्नै श्रीमानबाटा हत्या भइसकेपछि करिब १० महिना लामो दावी भुक्तानी प्रक्रिया चलेको थियो ।

२०८० असार ३१ गते एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपक श्रेष्ठ सिईओ दिनेशलाल श्रेष्ठसहितको उपस्थितिमा चेक हस्तान्तरण गर्नुअघि नै कम्पनीले रकम बाँडफाँडमा सेटिङ गरेको तथ्य फेला परेको छ । बीमा दावी भुक्तानीको सम्पूर्ण रकम बीमितले इच्छाएको व्यक्तिलाई दिनुपर्नेमा त्यसो नगरी कम्पनीले बीमितको मृत्युपछि लाभ नपाउने र हजरा खातुनसँग कुनै सम्बन्ध नै नभएका र एशियन लाइफकै बीमा अभिकर्ता नाजिर अन्सारीको नाममा २० लाख रुपैयाँको चेक काटेर भुक्तानी दिएको देखिएको छ । कूल एक करोड दुई लाख मध्ये ३० लाख रुपैयाँ तत्कालै कम्पनीमा नाथु देवानका दुई सन्तानको बीमा गराएर फर्काइएको थियो भने एशियन लाइफकै बीमा अभिकर्ता अन्सारीलाई चेकमार्फत २० लाख रुपैयाँ भुक्तानी गरिएको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त सूचनामा हजरा खातुनको हत्यापछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको कूल एक करोड २ लाख रुपैयाँ मध्ये ५२ लाख मात्रै मृतककी श्रीमानले पाएका थिए । बाँकी ५० लाख रुपैयाँ बाँडचुडमै सकिएको थियो । सो मध्ये ३० लाख रुपैयाँ वैधानिक विधि प्रयोग गरी कम्पनीमै फर्काइयो भने २० लाख रुपैयाँ अनाधिकृत रुपमा अभिकर्ताको खाताको राखेर झिकिएको र थप मानिसहरुलाई बाँडचुड गरिएको खुलेको छ । अझ हजरा खातुनका श्रीमानले पाएको ५० लाख रुपैयाँ मध्ये केही लाख रुपैयाँ हराएको छ । उक्त रकम कसले लियो भन्ने कुरा खुल्न बाँकी छ ।

महिलाको हत्यापछि प्राप्त बीमा रकम बाँडफाँड गर्दा असम्बन्धित व्यक्तिलाई भुक्तानी दिएकोबारे बारा प्रहरीले अनुसन्धान गर्न बाँकी छ । कानुनी प्रक्रिया पूरा गरेर बीमा दावी भुक्तानी गर्दा चेकमार्फत वा सिधैं खातामा जम्मा गरिन्छ । र उक्त प्रक्रियामा बीमा कम्पनीका सिईओ र लेखा प्रमुखको हस्ताक्षर हुन्छ । तर, बीमा पोलिसीका उल्लेख नभएको र मृतकसँग कुनै नाता नभएको बीमा एशियन लाइफका अभिकर्ता नासिर अन्सारीलाई दावी भुक्तानी बापतको रकम भुक्तानी गर्नुले हजरा खातुन हत्या काण्डमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका उच्च पदस्थ अधिकारीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको देखिन आएको छ ।

नेपाल बीमा प्राधिकरणले एशियन लाइफको उक्त कार्य अक्षम्य अपराध भएको जनाएको छ । यद्यपि औचापरिक रुपमा प्राधिकरणले कुनै धारणा सार्वजनिक गरेको छैन । प्राधिकरणले तत्काल छानविन गरी महिलाको हत्यापछि दावी भुक्तानी रकम बाँडफाँड गरिएको घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न प्रहरी समक्ष सिफारिस गर्नुपर्नेमा नियामक निकाय आफै चुक्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*