जीवन बीमा कम्पनीहरुको कर्मचारीे बोनस ३३ प्रतिशतले बढ्यो, सात कम्पनीले घटाए, कुनको कति ? (तथ्यांकसहित)

७ भाद्र २०८०, बिहीबार १७:२९

काठमाडौं । हाल संचालन रहेको १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमसम्ममा ५४ करोड ८३ लाख रुपैयाँ कर्मचारी बोनस वितरण गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड २४ लाख रुपैयाँ कर्मचारीलाई बोनस वापत वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कर्मचारीको बोनस ३२ दशमलव ९४ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रकम कर्मचारीलाई बोनस वापत वितरण गरेको देखिएको छ । यस अवधिमा कम्पनीले आफ्ना कर्मचारीलाई ९ करोड २९ लाख रुपैयाँ बोनस वापत वितरण गरेको छ ।

दोस्रो नम्बरमा सन नेपाल लाइफ रहेको छ । यस अवधिमा कम्पनीले कर्मचारीलाई ७ करोड ४३ लाख रुपैयाँ बोनस वापत वितरण गरेको छ । यसका साथै साविकका तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफले ६ करोड ४५ लाख रुपैयाँ कर्मचारी बोनस वापत वितरण गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा नेशनलले चार करोड ८३ लाख रुपैयाँ, मेट लाइफले चार करोड ४८ लाख रुपैयाँ, रिलायबलले चार करोड ३२ लाख रुपैयाँ, सूर्यज्योतिले तीन करोड २६ लाख रुपैयाँ, एशियनले तीन करोड २६ लाख रुपैयाँ र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले ५६ लाख २१ हजार रुपैयाँ कर्मचारीहरुलाई बोनस वापत वितरण गरेको छ ।

बृद्धिदरका आधारमा
भर्खरै आइपीओ निष्काशन गरेको सन नेपाल लाइफले आफ्ना कर्मचारीलाई वितरण गर्ने बोनसको दायरा बृद्धि गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी बोनस ब्यवस्था दुई सय ११ प्रतिशतले बृद्धि भएको प्रकाशित वित्तीय विवरणले देखाएको छ । दोस्रो नम्बरमा रहेको आइएमई लाइफको ७८ प्रतिशत र तेस्रो नम्बरमा रहेको सिटिजन लाइफको ६५ प्रतिशतले कर्मचारी बोनस ब्यवस्थाको आकार बृद्धि गरेको छ ।

समीक्षा अवधिमा रिलायबल नेपालले ५७ प्रतिशत, हिमालयन लाइफले ४९ प्रतिशतले आफ्ना कर्मचारीलाई वितरण गरेको बोनस व्यवस्था बृद्धि गरेको छ । त्यस्तै, नेपाल लाइफ र एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई बोनस वितरण गरेको भएतापनि वित्तीय विवरणमा चाँही उल्लेख गरेको छैन ।

यसका साथै, प्रभु महालक्ष्मी लाइफ, नेशनल लाइफ, मेट लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, एशियन र राष्ट्रिय बीमा संस्थानले आफ्ना कर्मचारीलाई वितरण गर्ने बोनसको आकार घटाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*