बीमालेख धितोमा झण्डै खर्ब ऋण प्रवाह, २५% ले बढ्यो बीमालेख धितो कर्जा (सबै कम्पनीको तथ्याङ्कसहित)

१५ भाद्र २०८०, शुक्रबार १०:१९

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा बीमालेख धितोमा बीमितहरुलाई ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ६७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो अर्थिक बर्षको तुलनामा कम्पनीहरुको बीमालेख धितोमा कर्जा २५ दशमलव ८४ प्रतिशतले बढेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको अन्तिम त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको हो । बीमितले आफूले बीमा बापत जम्मा गरेको रकमको समर्पण मूल्यको आधारमा बीमालेख धितोमा कर्जा पाउने गर्दछन । यो अत्यन्तै सजिलो प्रक्रिया हो । बीमितले बीमा कम्पनीमा पुगेको केही बेरमै यस्तो ऋण लिनसक्नेछन् ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले गत आर्थिक वर्षको असार महिनासम्ममा ३० अर्ब ४५ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनले २१ अर्ब ७१ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले १० अर्ब ४५ करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, हिमालयन लाइफले पाँच अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले चार अर्ब ७० करोड रुपैयाँ, सूर्यज्योति लाइफले तीन अर्ब ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब ८५ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ५५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब चार करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

यसका साथै, समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले ८७ करोड रुपैयाँ, सिटिजन लाइफले ५६ करोड रुपैयाँ, आइएमई लाइफले ५० करोड, सन नेपाल लाइफले ४६ करोड र रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।


बृद्धिदरका आधारमा,
समीक्षा अवधिमा बृद्धिदरको आधारमा रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीको बीमालेख धितोकर्जा १०४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १४ करोड ८१ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको कम्पनीले गत आवमा ३० करोड ३१ लाख रुपैयाँ त्यस्तो कर्जा प्रवाह गरेका छन् ।

यसका साथै, सिटिजन लाइफको ७६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ५१ प्रतिशत, आइएमई लाइफको ४१ प्रतिशत, हिमालयन लाइफको ३७ प्रतिशतले र अन्य कम्पनीको ३५ प्रतिशत भन्दा कले बृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा एशियन लाइफ, एलआईसी नेपाल र नेपाल लाइफको बीमालेख धितो कर्जा सबैभन्दा कम प्रतिशतले बढेको प्रकाशित तथ्यांककले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*