निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन आम्दानी साढे ४ अर्बमाथि, आधाको घट्दा कुनको कति ? (तथ्यांकसहित)

राजन कठायत
२१ भाद्र २०८०, बिहीबार १४:१७

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा चार अर्ब ५४ करोड रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४४ प्रतिशतले कम हो ।

कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कुल पाँच अर्ब दुई करोड रुपैयाँ बराबरको पुनर्बीमा कमिशन आर्जन गरेका थिए । कम्पनीहरुले आफ्नो जोखिम बहन गर्नको लागि पुनर्बीमा कम्पनीहरुमा बीमा गरेका हुन्छन् ।

सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये सात कम्पनीको पुनर्बीमा कमिशन बढ्दा सात कम्पनीको घटेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश वित्तीय सूचकमा अब्बल रहेको शिखर इन्स्योरेन्सले सबैभन्दा बढी पुनर्बीमा कमिशन वापत आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशत कम हो ।

समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ३७ लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ आर्जन गरेको थियो । जुन अघिल्लो आवको तुलनामा ३२ प्रतिशतले कम घटेको हो ।

त्यस्तै, यस अवधिमा युनाईटेड अजोडले ४२ करोड ९० लाख रुपैयाँ, आईजीआई प्रुडेसियल, एनएलजी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड रुपैयाँ, नेकोले ३६ करोड रुपैयाँ, सानिमा जिआईसीले ३२ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये नेशनल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी सबैभन्दा कम रहेको छ ।

बृद्धिदरका आधारमा
अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय सवैभन्दा बढी प्रतिशले बृद्धि भएको छ । यस अवधिमा कम्पनीको यस्तो आय ३२ प्रतिशतले बृद्धि भएको हो ।

त्यस्तै, नेशनल इन्स्योरेन्सको २५ प्रतिशतले दोस्रो स्थानमा रहेको छ । यसका साथै, नेको इन्स्योरेन्सको १८ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको २ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सको ६र एनएलजी इन्स्योरेन्सको ३ प्रतिशतले पुनर्बीमा आय कमिशन बृद्धि भएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पुनर्बीमा कमिशन सबैभन्दा बढी प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ प्रतिशतले घटेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको २० प्रतिशत, शिखर इन्स्योरेन्सको १८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १७ प्रतिशत र सगरमाथा लुम्बिनीको १० प्रतिशतले पुनर्बीमा कमिशन घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*