चाईना लाइफ इन्स्योरेन्समा भ्रष्टाचार गर्ने अध्यक्ष वाङ पिङलाई मृत्युदण्डको सजाय, चार करोड ५० लाख अमेरिकी डलर भ्रष्टाचार

२७ भाद्र २०८०, बुधबार १२:०७

काठमाडौं । संस्थागत सुशासनमा कडा नियम भएको चीनमा एक जीवन बीमा कम्पनीमा भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । चाइना लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा चाईना ताईपिङ इन्स्योरेन्स ग्रुपका पूर्व अध्यक्ष ६४ बर्षिया वाङ पिङलाई करोडौं रुपैयाँ भ्रष्टाचार गरी विदेशमा सम्पत्ति लुकाएको आरोपमा राष्ट्रिय नियमन आयोगले गरेको अनुसन्धानपछि दुई वर्षको काराबास र त्यसपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

चीनको कृषि विकास बैंकको महत्वपूर्ण पदमा कार्यरत वाङ पिङमाथि चिनियाँ सरकारको भ्रष्टाचार विरोधी अभियानको क्रममा सन २०२२ को जनवरीदेखि अनुसन्धान सुरु गरिएको थियो । चाईना डेलीका अनुसार चिनियाँ सरकारी अनुसन्धानकर्ताहरुले वाङ पिङले विभिन्न सार्वजनिक कम्पनीहरुमा बसेर काम गर्दा करिब चार करोड ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरी विदेशी बैंकमा पुर्याएर आफन्तको नाममा लुकाएको तथ्य फेला परेको थियो । अनुसन्धानको क्रममा उनले हङकङमा रहेका विदेशी बैंकमा आफन्तको नाममा खाता खोलेर ५६.४ मिलियन युवान बराबरको रकम लुकाएको तथ्य उजागर भएको थियो ।

चाईना लाइफ इन्स्योरेन्स नामक बीमा कम्पनी, कृषि विकास बैंकको बेईजिङ शाखाका अध्यक्ष भएर काम गरिरहेका उनलाई चीन सरकारले अनुसन्धान सुरु गरेपछि गत २०२२ को जनवरीमा चाईना इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । सोही क्रममा उनको संलग्नता खुलेपछि चीन सरकारले सबै सार्वजनिक पदबाट बर्खास्त गरेको थियो । उनी सन् २०१८ मा सो कम्पनीको अध्यक्ष तथा पार्टी प्रमुख बनेका थिए । त्यसो त उनी त्यसअघि २०१२ देखि २०१८ सम्म चाईना ताईपिङ इन्स्योरेन्स ग्रुपमा अध्यक्ष थिए ।

चिनियाँ अनुसन्धान कार्यालयले वाङ् पिङले २०१२ देखि नै मुद्रा सटहीको अपराधमा सामेल हुँदै आएको पुष्टि भएको जनाउँदै उनीमाथि वित्तीय अपराध तथा संस्थागत सुशासन विपरित कार्य गरेको अभियोग लगाइएको थियो । चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले गत मंगलबार उक्त फैसला सुनाएको चिनियाँ सरकारी सञ्चार माध्यम सिसि टिभीलाई उध्रित गर्दै चाईनाडेलीमा प्रकाशित समाचारमा जनाइएको छ ।

वाङ पिङको सबै सम्पत्ति जफत गरी सरकारिकरण गरिएको छ । उनी अबको दुई वर्ष जेलमा बिताउनेछन् भने त्यसपछि मृत्युदण्ड दिइनेछ । यद्यपि उनले अपिल गरेको अवस्थामा दुई वर्ष काराबासपछि जेलभित्रै प्राकृतिक मृत्यु हुने (आजिवन काराबास) मार्फत मृत्युदण्डको सजाय घटाउन सक्ने जनाइएको छ ।

चीनमा जीवन बीमा कम्पनीका अध्यक्षलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको विषय अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा चासोपूर्वक छापिएको छ । ब्लूमबर्ग, सिन्ह्वा, चाइना डेली, रोयटर्स आदिमा उक्त समाचारले निकै स्थान पाएको छ ।

वाङ पिङ चीनको हेलिलोङ जियाङ प्रान्तबाट सन् १९८५ मा बीमा कम्पनीमा प्रवेश गरेका थिए । उनलाई चीनको केन्द्रीय अनुसन्धान आयोग र राष्ट्रिय नियमन आयोगले एकै पटक अनुसन्धान गरेको थियो । अभियुक्त वाङ पिङको भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । उनलाई मंगलबारबाटै जेलमा पठाइसकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*