त्रिभुवन विमानस्थलमा भन्सारको बेथिति, यात्रुलाई विदेशबाट इलेक्ट्रिोनिक्स सामान ल्याउन बन्देज

गल्ती छोप्ने अनेक दाउ
२१ आश्विन २०८०, आईतवार १७:०५

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफ्नो फेसबुक पेजमा शुक्रबार एउटा सूचना राख्यो । त्यो सूचनामा अनुसार विदेशबाट आउने यात्रुलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्स्चर तथा पानी तताउने विद्युतीय उपकरण ल्याउन बन्देज गरिएको छ ।

कारणः त्यस्ता विद्युतीय सामग्री चेकजाँचका क्रममा एक्सरे मसिनबाट शंकास्पद देखिने र फोड्नुपर्ने अवस्था आएकाले नल्याउन भनियो । त्रिभुवन विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डेले यो कुरा फेसबुकमा राखेको पुष्टि गरे ।
यो सँगै पाण्डेले त्रिभुवन विमानस्थलको अराइभलमा राखिएका एक्सरे मेसिन पुराना र थोत्रा भइसकेका तथा बराबर काम नगर्ने भइसकेकोतर्फ संकेत गरे । विमानस्थलको डिपार्चरमा एडभान्स एक्सरे मेसिन छन्, सुरक्षा चेकजाँच पनि चुस्त छ । नेपालमा व्यागेज, लगेजलाई समेत भन्सार भन्ने गरिएका कारण अराइभल भन्सार कार्यालयको निगरानीमा छ ।

एक्सरे मेसिन अर्थात स्क्यानर पनि भन्सार आफैंले राखेको हो । डिपार्चरतिरका एक्सरे भने नागरिक उड्डयन प्राधिकरणले राखेको बताइन्छ । भन्सारले आफैं राखेका स्क्यानर पुरानो ढर्राका भए, यस मामिलाका एक जना जानकार भन्छन्, ‘भन्सारमा जानी जानी थोत्रा एक्सरे मेसिन लिएर राखिएको हो । हामीले पहिल्यै एडभान्स सेक्युरिटी, प्रविधियुक्त मास स्क्यानर, फरेन्सिक स्क्यानर राख्न सुझाव दिएका थियौँ । त्यसको परिपालना गर्न सकैले चासो देखाएनन् । अहिले आफ्नै नागरिकले आफैंले प्रयोग गर्न झोलामा ल्याएका सामान फुटाल्ने कुरा गर्नु र विदेशबाट आउँदा ति स–साना सामान पनि नल्याउ भन्नु कति हास्यास्पद हो ?’

त्रिभुवन भन्सार कार्यालयले “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर तथा पानी तात्ने मसिन पठाउने गरेको पाइएको छ’, भनेको छ, ‘यस्ता सामानहरू एक्सरे मसिनमा हेर्दा सबै शङ्कास्पद देखिने र जाँचपासका क्रममा खोलेर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”
त्रिभुवन विमानस्थल भन्सारको जाँचकी बस्ने ठाउँमा विमानस्थलमा हाल कार्यरत चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित संयुक्त जाँच टोली खटाउन जरुरी छ । बीमापोष्टलाई प्राप्त प्रमाणहरुले विमानस्थल भन्सार स्वयंका गतिविधिहरु शंकास्पद देखाउँछ । भन्सारको जाँच विन्दुमा निजी सेक्युरिटी कम्पनीका गार्ड राख्नु र स्क्यानर मेसिनमा समेत सामान्य कर्मचारी (कम्युटर अपरेटर) राख्नुले शंका उब्जाउँछ ।

मोटर साइकलको ब्रेक सु र इलेक्ट्रिक चुरोट भेपमा सुन लुकाएर ल्याएको घटनापछि विमानस्थल भन्सारले इलेक्ट्रिक सामानको चेकजाँचमा कडाई गरेको छ । गतिलो जाँच यन्त्र राख्न नसक्ने भन्सार कार्यालयले सर्वसाधारणलाई दुःख दिने काम मात्रै गरेको भन्दै यात्रुहरुले असन्तुष्टि पोखेका छन् । भन्सार कार्यालयको यो सूचनापछि निकै टिकाटिप्पणी आइरहेको विमानस्थल भन्सार प्रमुख डा. पाण्डेले स्वीकारेका छन् ।

यो पनि नछुटाउनहोस्

‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*