बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा, कार्तिक २२ भित्र दर्ता गरिसक्नु पर्ने

१६ आश्विन २०८०, मंगलवार ०९:२३

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए ।

यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुनासाथ संस्थानलाई औपचारिक रुपमा कम्पनीमा दर्ता गरिने उनले जानकारी दिए । सरकारले गएको वर्ष मात्रै जारी गरेको बीमा ऐन २०७९ मा एक वर्षभित्र राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिवर्तन गरिसक्ने भनी उल्लेख छ ।

ऐनको व्यवस्थालाई टेकेर आगामी कार्तिक २२ भित्र संस्थानलाई कम्पनीमा लगिसक्नु पर्नेछ । संस्थान कम्पनीमा दर्ता भएपछि नेपाल बीमा प्राधिकरण अन्तर्गत रहने बताइएको छ ।

पाठकले भनेका छन्, ‘ऐनमा एक वर्षभित्र संस्थानलाई कम्पनीमा दर्ता गरिसक्नु पर्ने व्यवस्था रहेका कारण हामी सोझै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न गएका थियौँ । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले संस्थानलाई यसरी कम्पनीमा दर्ता गर्ने कुरा मन्त्रिपरिषदबाट पारिन नभई गर्न नसकिने बताएपछि प्रस्ताव क्याविनेटमा लगेका हौँ ।’

अब बस्ने मन्त्रिपरिषद बैठकमा संस्थानलाई कम्पनीमा दर्ता गर्ने सन्दर्भको निर्णय हुने समेत प्रमुख प्रशासक पाठकले बताएका छन् । दर्तासँगै संस्थानको दायित्व कम्पनीमा सर्ने बताइएको छ ।

यस्तै, कम्पनीमा संस्थापकले पूँजी इन्जेक्ट गर्न पाउने छन् । संस्थानले नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको चुक्ता पूँजी कायम गर्न संस्थापकद्वारा नै पूँजी थप गर्नु पर्ने भएको छ ।

कम्पनीमा लगानीकर्ताले आ-आफ्नो भागमा पर्न आउने रकम थप गर्न कबोल गर्ने छन् । हाल बीमा संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकको मुख्य लगानी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*