‘द्रुत बस सेवा’ले तिहारपछि फेरि रफ्तार लिने, १ महिने पाइलट प्रोजेक्टमा ३ करोड खर्च

१५ कार्तिक २०८०, बुधबार १७:२२

काठमाडौं । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरको सूर्य विनायकबाट काठमाडौंको रत्नपार्कसम्म सञ्चालन गरेको द्रुत बस सेवा तिहारपछि फेरि रफ्तारमा चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार द्रुत बस सेवा सञ्चालनका सम्भावना, व्यवस्थापन र त्यसका कठिनाईबारे अध्ययन गर्न एक महिनाका लागि पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको सेवा हाललाई स्थगित मात्रै भएको हो, सँधैका लागि बन्द भएको होइन । बाहिरफेरा द्रुत बस बन्द भयो भनी व्यापक हल्ला फैलिएको छ ।

मौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका प्रेस संयोजक जीवन बीसीका अनुसार द्रुत बस सेवाको व्यवस्थापन र कठिनाईबारे अध्ययन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ, त्यसको बैठक बिहीबार बस्दैछ । बैठकले तिहारको बीचमा द्रुत बस सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा थप अध्ययन गर्ने तयारी गरिएको उनले बताए । अब डेढ सय भन्दा बढी बस सञ्चालन गर्ने गरी दीर्घकालीन योजना अघि बढाउने सम्बन्धमा अनौपचारिक छलफल भइसकेको बताइएको छ ।

भक्तपुर काठमाडौं मात्र नभई चक्रपथमा समेत द्रुत बस सेवा चलाउने सन्दर्भमा समेत कुरा भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको पूर्वाधार महाशाखाका पूर्व प्रमुख एवं सडक व्यवस्था सम्बन्धका जानकार अर्जुनजंग थापाले समेत चक्रपथमा द्रुत बस नचलाई नहुने निष्कर्षमा सरकार पुगिसकेको भए पनि आवश्यक कारबाही अघि नबढेको मात्रै हो, भनेका छन् । चक्रपथ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीलाई सरकारले द्रुत बस सेवा सञ्चालन गर्ने गरीको संरचना बनाउन निर्देशन दिनुपर्ने थापाको भनाइ छ ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस पाइलट प्रोजेक्ट गर्दा होर्डिङ बोर्ड र लेन छुट्याउने पेन्टिङमा ३ करोड खर्च भएको कुरा भने साँचो भएको मन्त्रालयले स्वीकार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*