असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च

१७ कार्तिक २०८०, शुक्रबार १५:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ भने आइएमई लाइफको बृद्धि सबैभन्दा उच्च देखिएको छ ।

असोज महिनामा जीवन बीमा कम्पनीहरुले कूल दुई अर्ब ३८ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । उक्त रकम गत आवको सोही अवधिको तुलनामा ४.५९ प्रतिशतले बृद्धि हो । गत आवमा यिनै बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क बापत जम्मा दुई अर्ब २७ करोड ९६ लाख रुपैयाँ संकलन गरेका थिए ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेर नेपाल लाइफ सबैभन्दा अगाडि छ । नेपाल लाइफले एक महिनामा ५० करोड ७९ लाख ९१ हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क आम्दानी २३.६९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, दोस्रो स्थानमा २६.३३ प्रतिशतले बृद्धि गरी ३५ करोड आठ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एलआईसी नेपाल तेस्रो स्थानमा छ । सो कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सूर्यज्योति लाइफले १८ करोड सात लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा सिटिजन लाइफले १४ करोड २६ लाख, सानिमा रिलायन्सले १२ करोड ६८ लाख, एशियन लाइफले १२ करोड १३ लाख रुपैयाँ, आईएमई लाइफले १२ करोड चार लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले दश करोड ९० लाख रुपैयाँ, सन नेपाल लाइफले १० करोड ३६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले नौ करोड आठ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले चार करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

बृद्धिदरको आधारमा आईएमई लाइफको उत्कृष्ट बृद्धि देखिएको छ । आईएमई लाइफले गत आवको असोज महिनाको तुलनामा ३५.६५ प्रतिशतको बृद्धि हासिल गरेको छ । यद्यपि तथ्याङ्कमा राष्ट्रिय बीमा संस्थानको ५५.५८ प्रतिशत देखिए पनि व्यवसाय असाध्य न्यून र बीमितबाट उठाएको रकम गत आवमा सही समयमा लेखामा प्रविष्ट नगरेकोले उत्कृष्ट बृद्धि मान्न नसकिएको हो ।

त्यस्तै, दोस्रो उत्कृष्ट बृद्धिमा नेशनल लाइफ रहेको छ । यो कम्पनीले गत वर्षको तुलनामा २६ प्रतिशतको बृद्धि हासिल गरेको छ । नेपाल लाइफको २३ प्रतिशतको बृद्धि देखिएको छ ।

One thought on “असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च

  1. Dambar Bahadur Badi says:

    दाेश्राे स्थानमा रहेकाे कम्पनीको नाम छुटे जस्ताे लाग्याे । मिल्छ भने कृपया नाम समावेश भए प्रष्ट हुने थियाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*