तीन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, सूर्यज्योतिको ३०% ले गिरावट,  अन्य कुनको कति ?  (सूचीसहित)

१९ कार्तिक २०८०, आईतवार १४:३९

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असोज महिनामा ७ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन पाँच दशमलव ३० प्रतिशतले घटेको छ ।

मर्जर पछाडी सूर्यज्योति लाइफ व्यापार विस्तारमा भन्दा पनि पुरानै बीमा शुल्क संकलन गर्ने काममा व्यस्त रहेको देखिन्छ । मर्जर पछि अन्य कम्पनीको व्यवसायमा रौनक छाएपनि सूर्यज्योति लाइफ भने सुस्ताएको देखिन्छ ।

सूर्यज्योति लाइफले असोज महिनासम्ममा ५१ करोड ९३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले कम हो । कम्पनीले गत आवको सोही अवधिसम्ममा ७४ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।

मर्जर पश्चातको प्रथम त्रैमासको वित्तीय विवरणमा कम्पनीको अवस्था झनै खस्किदै गईरहेको देखिएको छ । कम्पनीले पहिलो त्रैमासमा प्रगती गर्ने आशमा रहेपनि प्रथम बीमा शुल्क आर्जनमा उच्च गिरावट आएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

असोज महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असोज महिनासम्ममा कुल १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको असोज महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन १७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, नेशनल लाइफले असोज महिनासम्ममा कुल ९० करोड ७२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय ७ दशमलव ६५ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८४ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।

असोज महिनासम्ममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले कम हो । कम्पनीले गत आवको असोज महिनामा ५९ करोड ४३ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

यसका साथै, असोज महिनासम्ममा एलआइसी नेपालको नयाँ बीमाशुल्क आर्जन ४ दशमलव ५ प्रतिशतले घटेर ५० करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्ममा ५२ करोड ६२ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको थियो ।

असोज महिनासम्ममा सिटिजन लाइफको प्रथम बीमाशुल्क १५ प्रतिशतले घटेर ४१ करोड ६० लाख रुपैयाँमा कायम रहेको छ । कम्पनीले अघिल्लो आवको असोज महिनासम्ममा ४९ करोड २२ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।

साथै, असोज महिनासम्ममा आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यसका साथै, असोज महिनासम्ममा सन नेपाल लाइफले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २१ करोड ५९ रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असोज महिनासम्ममा १२ करोड ५४ लाख रुपैयाँको नयाँ बीमा व्यवसाय गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको असोज महिनाको तुलनामा ३ दशमलव ३७ प्रतिशतले कम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*