नेपाल पुनर्बीमा कम्पनी १० औं वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय व्यवसायतर्फ अघि बढ्दै

२१ कार्तिक २०८०, मंगलवार १३:०७

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो ।

१० औं बार्षिकोत्सवको अवसरमा कम्पनीले आज विहानै काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ । कम्पनीले बार्षिकोत्सव कार्यक्रम स्थगित गरेर जाजरकोटमा भएको भुकम्प पिडितलाई सहयोग गर्ने भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको स्थापनाको १० वर्षमा नेपालमा सञ्चालित २८ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ ।

प्रतिस्पर्धी बजारमा नेपाल पुनर्बीमा कम्पनीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सफलताको शिखरमा कायमै रहन सफल भएको छ । नेपाल पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीहरुको मात्रै बीमा व्यवसाय नगरी अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो दरिलो उपस्थिति दर्शाउन सफल भएको छ ।

पुनर्बीमा भनेको अन्तर्राष्ट्रिय व्यवसाय भएको कुरा नेपाल पुनर्बीमा कम्पनीले आत्मसात गर्दै अघि बढिरहेको देखिएको छ । यस अवधीमा भारत, बंगलादेश, मलेसिया, श्रीलंका सहितका तीन दर्जनभन्दा बढि देशमा आफ्नो व्यवसाय सञ्जाल विस्तार गर्न सफल भइसकेको छ । उल्लेखित देशहरुबाट नेपाल पुनर्बीमा कम्पनीले व्यवसाय समेत भित्राउन सफल भएको छ ।

सुरुमा १० अर्ब चुक्ता पुँजिबाट सुरु भएको कम्पनीले हाल ११ अर्ब ६५ करोड पुर्याइसकेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष र बीमा कोषमा गरी आठ अर्बभन्दा बढि संचिती गरिसकेको छ ।
नेपाल पुनर्बीमा कम्पनी आगामी दिनमा अन्तर्राष्ट्रिय व्यवसायतर्फ अघि बढ्नुपर्ने अवस्थामा छ । देशभित्रको सीमित बीमा बजारले मात्रै नेपाल पुनर्बीमाको थप व्यवसाय विस्तार नहुने हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरी पुनर्बीमा व्यवसाय भित्राउनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*