भूकम्प पीडितलाई फेरि बेकामे सेल्टर बनाउने चौधरी फाउण्डेशनको घोषणा, यस्तो छ विगतको नालीबेली

२१ कार्तिक २०८०, मंगलवार १६:४८

काठमाडौं । विश्वका अर्वपतिको सूचीमा पर्दै आएका उद्योगी एवं सांसद विनोद चौधरीले सामाजिक सञ्जालमा ओइरिएको आलोचना सहन नसकेपछि फेसबुकमा फ्याट्ट एउटा घोषणा गरे । सामाजिक सञ्जालमा यस्तो बेलामा अर्बपतिहरु कहाँ लुकेका छन् ? भनी व्यापक आलोचना भएपछि उनले फेसबुकका हठात यो घोषणा गरेका हुन् । चौधरी फाउण्डेशनले २०७२ को भूकम्पपछि निर्माण गरेका ट्रान्जिसनल सेल्टर स्वरुप कै आश्रयस्थल निर्माण गर्ने घोषणा उनले गरेका छन् ।

हेरौँ, चौधरीले आफ्नो फेसबुक पेजमा राखेको पोष्ट

उनको पोष्टमा रुकुमपश्चिम चौर जहारी नगरपालिकामा ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय फाउण्डेशनले गरेको भनी उल्लेख छ । उनको यो घोषणाबाट के जाहेर हुन्छ भने उनी सजिलो र नजिक रोज्छन् । किन भने २०७२ को भूकम्प जस्तै दुर्गम जाने चेष्टा यो पल्ट गरेनन् । जाजरकोट जान्छु भन्ने घोषणा गर्ने आँटसम्म आएन, उनलाई ।

२०७२ को भूकम्पपछि विनोद चौधरी अध्यक्ष रहेको फाउण्डेशनले पत्रकार सम्मेलन नै गरेर घरविहीन भएकाहरुलाई १ हजार घर बनाउने घोषणा गरेको थियो । उसले अन्य साझेदारहरुसँग मिलेर ९ हजार घर बनाउने समेत भनेको थियो ।
पछि उपत्यकाकै एउटा नगरपालिका मै त्यसको चित्र राम्रो देखिएन । ललितपुरको कार्यविनायकमा ५२ वटा अस्थायी टहरा बनाउन फाउण्डेशनले जस्तापाता, ७८ वटा बाँस, पाँच बोरा सिमेन्ट, बाँस बाँध्ने तार, बाँसमा बेर्ने प्लाष्टिक, झ्यालढोकामा प्रयोग गर्ने छेस्किनी, चुकुल र रङ गरेर यस्तै खत्र्याक खुत्रुक सामान उपलब्ध गरायो । जसको खर्च प्रतिटहरा ३० हजार भनिएको थियो । तर, त्यसले घर बन्ने देखिएन । स्थानीयले रोडा, बालुवा, ढुंगा, इँटालगायत वस्तु किन्न आफ्नै खल्ती खोतल्नुपर्ने अवस्था आयो । जसको खर्च ७० हजार प्लस थियो ।

२०७२ वैशाख २३ मा पत्रकार सम्मेलन गर्दा चौधरीले बास गुमाएकालाई ७ सय देखि २ हजार डलरसम्मका घर बनाइदिने समेत भनेका थिए । त्यो बेला सन् २०१५ मा अमेरिकी डलरको भाउ १ को खरिददर १०६ रुपैयाँ ५ पैसा थियो । त्यसरी हिसाब गर्दा चौधरीले ७४ हजार २०० देखि दुई लाख १२ हजारसम्मका घर बनाइदिन्छु भनेको ठहर्छ । तर, ललितपुरको कार्यविनायकमा अस्थायी टहरा बनाउँदा नबनाउँदै उनको असली अनुहार उदांगियो ।

चौधरी फाउण्डेशनले धादिङमा दुई विद्यालय, ६६ वटा ट्रान्जिसनल घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिन आयोजित कार्यक्रममा पनि भूकम्प पीडितले असन्तुष्टि पोखेका थिए । व्यवहारमा जे सुकै भए पनि प्रचारमा भने चौधरी फाउण्डेशन फास्ट नै छ । २०७२ माघ मै १७ सय वटा ट्रान्जिसनल होम निर्माण गरेको जानकारी दियो । तर, ति घर फाउण्डेशन आफैंले निर्माण गरेका वा साझेदारहरुसँगको सहकार्यमा निर्माण भएका भन्नेबारे राम्ररी बताएन । गोलमोटलमा डेटा सार्वजनिक गरेको देखिन्छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित १४ वटा जिल्लामा सिजी आश्रय र सिजी शिक्षालय परियोजना अन्तर्गत ति घर निर्माण गरेको जिकिर गरेको फाउण्डेशनले बाँकी जिल्लामा पनि यो कार्यक्रम गरिने जानकारी दिएको थियो । तर, पछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको सहुलियतबाहेक अन्य दाताले दिएका सहयोग दीर्घकालीन भएनन् ।

चौधरी फाउण्डेशनले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र गोरखा जिल्लामा सिजी आश्रय निर्माण भएको जानकारी दिए पनि कति ठाउँमा ति काम आए भन्नेको जानकारी छैन । सिन्धुपाल्चोक र गोरखामा पोलिटेक्निकल इन्स्टिच्युट सञ्चालन गर्नेसम्मको घोषणा गरेको थियो । चौधरी स्वयंले प्रभावित जिल्लामा व्यवसायिक तालिम दिने र दक्ष जनशक्ति उत्पादन गर्न यो इन्स्टिच्युट स्थापना गर्न लागिएको बताएका थिए । तर, त्यसपछि यसबारे उनले जानकारी दिएका छैनन् ।

उतिबेलै कार्यविनायकी बिमला सुनारले भनेकी थिईन्, ‘७० हजार आफैंले खर्च गर्नुपर्छ भने चौधरी फाउण्डेशनको सहयोग किन लिनु ? चौधरीले बनाएको टहरामा घरका धेरै जना सदस्य बस्नै गाह्रो हुने रहेछ । सानो टहरामा ठूलो परिवार नअटाउने, अव्यवहारिक भयो यो ।’

उनले सरकार अर्थात् पुनःनिर्माण प्राधिकरणले दिने आर्थिक सहायता उपलब्ध नगराएसम्म दीर्घकालीन रुपमा बस्न मिल्ने घर बनाउन मुस्किल रहेको कुरा उनले त्यतिबेलै बताएकी थिईन् । अर्का एक जना स्थानीयले समेत चौधरी फाउण्डेशनले बनाएका टहरा बसोबास गर्न मिल्ने किसिमको नभएको बताएका थिए । उनले भनेका थिए, ‘चौधरीको टहराको पछि लाग्दा कतै राज्यले दिने सुविधा पनि खोसिन्छ कि भन्ने चिन्ता बढेर गयो ।’

त्यो बेला भूकम्प पीडितको सहयोगार्थ चौधरी फाउण्डेशनले २५ करोड रुपैयाँ खर्च गर्ने जानकारी दिएको थियो । त्यति मात्रै होइन फाउण्डेशनले प्राइस वाटर्स हाउस कुपर्स इण्डिया फाउण्डेशन र सोसल इन्भाइरोमेन्ट एण्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी इण्डियासँग घर निर्माणका लागि सहकार्य गर्ने बताएको थियो । चौधरीले त चीनको ठूलो इ-कमर्श अलिबाबाका प्रमुख ज्याक्माले समेत सघाउने प्रतिवद्धता जनाएको गफ लगाएका थिए । तर, घर निर्माणमा उनीहरुको कुनै प्रविधि प्रयोग भएन ।

यो पल्ट भूकम्प पीडितका लागि के कस्तो सहयोग तथा पुनःस्थापनाको कार्यक्रम ल्याइएको छ ? भनी फाउण्डेशनका अध्यक्ष समेत रहेका विनोद चौधरी स्वयंलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् भने उनको फाउण्डेशनका अन्य पदाधिकारी तथा कर्मचारी सम्पर्कमा आउन मानेनन् । चौधरी ग्रुपसँग जोडिएका कतिपयले त फाउण्डेशनको सम्पर्क नम्बर सम्म दिन मानेनन् । यसको अर्थ ‘सीजी’भित्रका बहुआयामिक बदमासी बाहिर आउने भय ग्रुपको आन्तरिक सर्कलमा व्याप्त छ, भन्ने ठहर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*