बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढ्यो, विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार

२४ कार्तिक २०८०, शुक्रबार १४:४७

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक एवं वित्तीयस्थिति जारी गर्दै यस्तो जानकारी दिएको हो । पहिलो तीन महिनामा निक्षेप एक खर्ब ५८ अर्ब ५० करोडले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप २२ अर्ब ६९ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निक्षी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको छ । राष्ट्र बैंकको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड अर्थात् १२ अर्ब ३३ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जुन ६.७ प्रतिशतले बढेको बताइएको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेको देखिन्छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत देखिएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

यो विदेशी मुद्रा सञ्चितिले हालको आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यो बेला आयात १.७ प्रशितले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा भने २.१ प्रतिशतले बढेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*