तिहार विदाअघि एकै दिन ७७ कम्पनीको वित्तीय विवरण सार्वजनिक

२४ कार्तिक २०८०, शुक्रबार १६:५६

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका र नभएका गरी ७७ वटा कम्पनीले शुक्रबार एकैदिन वित्तीय विवरण सार्वजनिक गरेका छन्। ३० गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने समय पाएका कम्पनीहरुले तिहारविदा अघि नै वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

यसरी एकैदिन वित्तीय विवरण सार्वजनिक गर्दा सो त्रैमाशिक वित्तीय विवरण लगानीकर्ता र सरोकारवालाहरुलाई जानकारी दिन हैन, नियमनकारी निकायले तोकेको नियम पूरा गर्न मात्रै हो कि भन्ने देखिन्छ। जब एकैदिन चार दर्जन भन्दा धेरै कम्पनीले विभिन्न पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्छन भने लगानीकर्ता र सरोकारवालाहरुले ती सबैलाई अध्ययन, विश्लेषण गर्ने कति समय पाउलान् ? एक महिना समय पाएका कम्पनीहरुले अन्तिम दिनमा मात्रै आएर वित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्तालाई भने कम्पनीको वित्तीय विवरण हेर्न समेत कठिन भएको छ। एकैदिन यति धेरै कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्तालाई विवरण हेर्न भ्याइनभ्याई भएको छ।

एकैदिन यसरी प्रतिवेदनहरुको ओइरो लाग्दा अध्ययन विश्लेषण गर्नेहरुले समय पनि पाउँदैनन्। कात्तिक २४ गते शुक्रबार एकैदिन नेप्सेमा सूचीकृत भएका र नभएका गरी ७७ वटा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यसमा नेप्सेमा सूचीकृत रहेका कम्पनीमात्रै झण्डै ६ दर्जन छन्।

विवरण सार्वजनिक गर्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर र लघुवित्त कम्पनी रहेका छन्। वाणिज्य बैंकहरुलाई भने त्रैमास सकिएको तीन साताभित्रै विवरण सार्वजनिक गर्न निर्देशन दिइएकोले सबै बैंकले केहि दिन अघि नै वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। अन्य कम्पनीहरुलाई कात्तिक मशान्तसम्मको समय तोकिएको थियो।

कात्तिक अन्तिममा तिहार विदा रहेकोले पनि कम्पनीहरुले करिब एक साता अघि नै वित्तीय विवरण सार्वजनिक गरेका हुन्। अझै केहि सूचीकृत कम्पनीहरुले विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। नियमनकारी निकायहरुले तोकेको समय अर्थात त्रैमास समाप्त भएको ३० दिन भित्र वित्तीय विवरण सार्वजनिक गरी पेश गर्नुपर्ने नियम अझै केही कम्पनीहरुले पूरा गर्ने छाँट देखाएका छैनन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने अधिकाँश कम्पनीको वित्तीय विवरण सन्तोषजनक देखिदैन। अर्थतन्त्रमा देखिएको मन्दीको असर कम्पनाीहरुको वित्तीय विवरणमा पनि देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*