शेयर धितो कर्जा ६.२ प्रतिशतले बढ्यो, रियल स्टेटको सुस्तता कायमै

२४ कार्तिक २०८०, शुक्रबार १७:२७

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस्तो कर्जा २.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले जारी गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार असोज मसान्नसम्म एक खर्ब ९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड अर्थात् १.३ प्रतिशतले मात्रै बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा क्रमशः ६३.९ र ३६.१ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा २.३ प्रतिशतले, विकास बैंकहरुको १.८ र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ ।

यस्तै, पहिलो तीन महिनामा आवधिक कर्जा ७ प्रतिशत, नगद प्रवाह कर्जा १५.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात)कर्जा १५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.१ प्रतिशतले र मार्जिन प्रकृतिको (शेयर धितो) कर्जा ६.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३९.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*