सूर्यज्योति लाइफको मुनाफामा २६३% ले बढ्यो, बीमा सरेण्डरमा ४४०% को बृद्धि, यस्तो छ अन्य वित्तीय सूचांक

२५ कार्तिक २०८०, शनिबार १६:४३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी र बीमा सरेण्डर (समर्पण) दुवै उच्च अंकले बृद्धि भएको देखिएको छ । त्यस्तै, मुनाफा भने २६३% ले बृद्धि भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको एनएफआरएस प्रणाली अनुसारको वित्तीय विवरणमा बीमा दावी भुक्तानी ३८.१३ प्रतिशतले बृद्धि भई ३७ करोडबाट बढेर ५२ करोड पाँच लाख ३९ हजार ४०६ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको बीमा सरेण्डर डरलाग्दो अवस्थामा पुगेको देखिएको छ । कम्पनीको तथ्याङ्क अनुसार बीमा सरेण्डर रकम ४४०.४१% ले बृद्धि भएको देखिएको छ । गत आवको यसै अवधीमा जम्मा एक करोड ६३ लाख चार हजार ६१९ रुपैयाँ बीमा सरेण्डर गरेको कम्पनीले यस आवको तीन महिनामा आठ करोड ८१ लाख ११ हजार ६४५ रुपैयाँ सरेण्डरबाट फिर्ता भएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ५० करोड २४ लाख ५० हजार नाघेको छ । गत आवमा कम्पनीको कूल जीवन बीमाकोषको रकम २७ अर्ब रुपैयाँ थियो । त्यस्तै, सुर्यज्योति लाइफको लगानी ४.६१ प्रतिशतले बृद्धि भई २८ अर्बबाट ३० नाघेको छ । त्यस्तै, बीमितले लिएको ऋण तीन अर्ब ९३ करोडबाट बढेर चार अर्ब नौ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।

कम्पनीले कमिशनबापत भुक्तानी रकम ११ करोड ८१ लाख रुपैयाँ वितरण गरेको थियो । यस आवको तीन महिनामा कम्पनीले २१ करोड २७ लाख रुपैयाँ कमिशनबापत वितरण गरेको छ । त्यस्तै, कम्पनीको खुद नाफा तीन करोड ६३ लाखबाट २६३.३१% ले बृद्धि भई १३ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या आठ लाख ९१ हजार पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.६२ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ८१९.३१ रुपैयाँ रहेको छ । नेटवर्थ प्रतिशेयर १३६.८० रुपैयाँ रहेको छ भने पिई रेसियो ४२ः८४ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*