शंखधरलाई सम्झिँदै रविले भने-सर्वसाधारण ठग्ने लघुवित्त र सहकारीलाई क्षमा गर्नु हुँदैन

२८ कार्तिक २०८०, मंगलवार १५:०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी र लघुवित्तहरुले गरेको ठगि अक्ष्यम्य रहेको बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सहकारी र लघुवित्तको ठगिलाई क्षमा गर्न नहुने बताएका हुन् ।

नेपाल संवतका प्रर्वतक शंखधर साख्वाःको बहुआयामिकताबारे चर्चा गर्दै रास्वपा सभापति लामिछानेले अहिले व्याप्त सहकारी र लघुवित्तहरुको ठगिलाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेको मञ्चबाटै उनले सहरकारी र लघुवित्तहरुको ठगिबाट आजित आम नागरिकलाई सरकारले शंखधर साख्वाः बनेर न्याय दिलाउनु पर्ने आवश्यकता औँल्याए ।

आर्थिक रुपमा विपन्न र चर्को ठगिबाट पीडित आम नागरिकका लागि शंखधरको बहुआयामिक व्यक्तित्व अनुकरणीय रहेको बताउँदै लामिछानेले अगाडि भने, ‘शंखधरका बहुआयामिक व्यक्तित्वबारे हामी किताब लेखेर तथा लेख लेखेर थाक्दैनौँ । तर, उहाँले गरिबहरुको ऋण मुक्त गर्ने जुन काम गर्नु भएको थियो त्यो मेरा लागि सबैभन्दा महत्वपूर्ण छ । जुन प्रेरणाले थप एउटा काम गर्नका निमित्त प्रेरित गरेको छ । मधेशको कार्यक्रमबाटै नेपाल संवतलाई कार्यान्वयनमा लाने कार्य नै उहाँ(शंखधर साख्वाः)प्रति सच्चा सम्मान हुनेछ ।’

यस्तै, रास्वपाले नेपाल संवतलाई पार्टीको विधान मै उल्लेख गरेर कार्यान्वयनमा लैजाने उद्घोष समेत उनले गरेका छन् । नेपाल संवत ११४४ को पूर्वसन्ध्यामा सरकारले गरेको निर्णयको स्वागत गर्दै लामिछानेले मधेश भेलाबाटै रास्वपाले नेपाल संवतलाई पार्टीका कामकाज र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने प्रस्ताव पारित गर्ने उद्घोष गरेका हुन् ।

उनले भने, ‘सरकारी कामकाज र दस्तावेजमा नेपालको मौलिक संवत नेपाल संवत उल्लेख गर्ने सरकारको निर्णयको स्वागत गर्दछु । यसै कार्यक्रमबाट अब लगत्तै हुन लागेको मधेश भेलामा यसलाई पार्टी विधान लगायतमा उल्लेख गर्ने प्रस्ताव राख्ने घोषणा गर्दछु । नेपाल संवतलाई देशव्यापी कार्यान्वयनमा लैजाने कुरामा रास्वपा प्रतिवद्ध रहेको जाहेर गर्दछु ।’

स्थानहरुको मौलिक नाम राख्ने सुरुवात गरेर शंखधर साख्वाः प्रतिष्ठानले महत्वपूर्ण काम गरेको भन्दै रास्वपा समापति लामिछानेले इतिहास जोगाउन अतिआवश्यक भइसकेको बताए । उनले भने, ‘ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको छ । यो प्रवृत्ति रोक्न पनि इतिहासको सम्मान गर्ने परम्परा विकसित हुन जरुरी छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*