५५ मध्ये ५ लघुवित्तले गरे लाभांश घोषणा, कसको कति, कहिले हुन्छ बुक क्लोज ?

३० कार्तिक २०८०, बिहीबार ०९:४८

काठमाडौं । चालू आर्थिक वर्षको असोजमसान्त अर्थात् पहिलो त्रैमासिकसम्ममा ५ लघुवित्तले मात्रै लाभांशको घोषणा गरेका छन् । शेरबजार परीसूचक अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेहरुले गएको आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिएर पनि थप एक मिहना वितिसक्दा समेत ५५ मध्ये ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरे ।

यूनिक नेपाल लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेका हुन् । गएको आर्थिक वर्षको तुलनामा यो वर्ष कम्पनीहरुले लाभांश वितरणमा ढिलाई गरेका छन् । युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

स्वावलम्बन लघुवित्तले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आरएसडिसी लघुवित्तले गएको आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीमध्ये ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उता, एनआईसी एशिया लघुवित्तले लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । उसले गएको आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सपोर्ट लघुवित्तले गएको आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । सपोर्टले हाल कायम चुक्ता पूँजीमध्येबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी हाल ९ करोड ५२ लाख ३८ हजार रहेको छ ।

लाभांश घोषणा गर्नेमध्ये आरएसडीसी लघुवित्तले बुक क्लोज मिति तय गरी साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने बताइसकेकाले मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउने बताइएको छ । अहिलेसम्म बाँकी चार कम्पनीले भने बुक क्लोज मिति तय गरेका छैनन् ।

यी लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*