आव २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गराउने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, सामूहिक प्रयासबाट सम्भव बनायौंः सिईओ पौडेल

१८ मंसिर २०८०, सोमबार ०९:४१

काठमाडौं । सिटिजन लाइफले आव २०७९/०८० वित्तीय विवरणमा आधारित जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङन प्रतिवेदन साढे चार महिनाभित्रैमा नियामक नेपाल बीमा प्राधिकरणबाट पारित गराउन सफल भएको छ । सम्भवतः नेपाली बीमा जगतको इतिहासमा आर्थिक वर्ष सकिएको पाँचौं महिनामा बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गराउने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी बन्न पुगेको छ ।

सिटिजन लाइफले निर्जिवन बीमा कम्पनीहरु भन्दा पनि पहिलो एक्चुरी भ्यालुएशन पारित गरेर नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई चुनौति दिएको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्दछ भने निर्जीवन बीमा कम्पनीहरुको लायबिलिटी एडुकेसी टेष्ट (ल्याट) एक्चुरीबाटै गराउनुपर्दछ । जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशन छिटो हुने गर्दथ्यो । तर यस पटक सिटिजन लाइफले निर्जीवन बीमा कम्पनीहरुलाई समेत उछिनेर सिंगो बीमा क्षेत्रलाई आश्चर्यचकित पार्न सफल भएको छ । सिटिजन लाइफले साढे चार महिनाभित्रैमा बीमाङ्कीय मूल्याङ्कन पारित गराउन सफल भएसँगै अब अन्य जीवन बीमा कम्पनीहरुलाई समेत समयमा बीमाङ्कीय मूल्याङ्कन गराउन दवाव पर्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कुशल व्यवस्थापन, संस्थागत सुशासन र बीमाङ्कीय मूल्याङ्कन चुस्तदुरुस्त बनाउने व्यवस्थापनको निर्णयलाई सञ्चालक समितिले गरेको फूल सपोर्टका कारणले जीवन बीमाको बीमाङ्कीय मूल्याङ्कनमा थप एक वर्ष लाग्छ भन्ने परम्परागत मान्यतालाई चिर्न सफल भएको छ ।

कतिपय जीवन बीमा कम्पनीहरुको आव २०७८।०७९ कै बीमाङ्कीय मूल्याङ्कन स्वीकृत हुन बाँकी रहेको सन्दर्भमा सिजिटन लाइफले बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई गर्ने कम्पनीहरुलाई चुनौति दिँदै आव २०७९।८० सकिएको चार महिना १५ दिनमा नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराउन सफल भएको छ । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कन यही मंसिर १५ गते स्वीकृत गरेको थियो ।

सिटिजन लाइफका लेखा प्रमुख दीप बहादुर बिसीले समयमा काम गर्ने, कामको प्राथमिकीकरण गर्ने, एक्चुरीको कैफियतलाई उचित समयमा सम्बोधन गरेर आजको नतिजा निकाल्न सम्भव भएको बताए । लेखा प्रमुख दीप बहादुर बिसीले बीमाङ्कीय मूल्याङ्कनको काम खास ठूलो समस्या नभएको बताउँदै जीवन बीमा कम्पनीको बोर्ड, नियामक निकायलगायतसँग उचित समन्वय गर्न सकेमा समयमा नै बीमाङ्कीय मूल्याङ्कन पारित गर्न सकिने बीमापोष्टलाई जानकारी दिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेल नेपाल जीवन बीमक संघका अध्यक्ष हुन् । बीमाको दीगो विकास र चुस्तदुरुस्त लेखा प्रणालीका लागि कुनै सम्झौता नगर्ने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको नीतिकै कारण आजको नतिजा सम्भव भएको सिटिजन लाइफका सिईओ पोषकराज पौडेलले बताए । ‘यो कसैले एकल रुपमा गरेको काम होइन, बोर्ड, लेखा विभाग, नेपालमा रहेका एक्चुरी, भारतमा रहेका एक्चुरी र नियामक नेपाल बीमा प्राधिकरण सबैको सामूहिक प्रयासबाट हामीले यो सफलता हात पार्न सफल भयौं’ सिईओ पोषकराज पौडेलले बीमापोष्टसँग भने ।

आर्थिक वर्ष सकिएको साढे चार महिनामै बीमाङ्कीय मूल्याङ्कन तयार पार्न सफल हुनुको पछाडि योजनाबद्ध कार्य र सामूहिक प्रयास भएको सिईओ पौडेलले बताए । ‘हामीले स्थानीय एक्चुरीमा क्षमता विकास गर्यौं, इम्पावर गर्यौं, समयमा नै योजनाबद्ध र प्राथमिकीकरण गरेर काम गर्न लगायौं । भारतमा रहेको एक्चुरीलाई पनि नेपालको नियामकले भनेका कुराहरु शेयर गरेर समन्वयमा रहेर काम गर्यौं । सबै टिमले यसमा योजनामा इमान्दार बनेर काम गरेकोले सम्भव भयो । बीमा प्राधिकरणलाई नै विशेष धन्यवाद दिन चाहन्छु, उहाँहरुले हाम्रो एक्चुरी भ्यालुएशनलाई एकदमै प्राथमिकतामा राखेर भेरिफाई गरिदिनुभयो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*