हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्दै

२६ मंसिर २०८०, मंगलवार १८:०४

काठमाडौं । हिमालयन बैंकमा रहेको विदेशी साझेदारको सेयर नेपालको हिमालयन रि इन्स्योरेन्कम्पनीले खरिद गर्ने भएको छ। सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया थालेको हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्न लागेको हो।यसअघि बेलायतको एक लगानी नियोगले खरिद गर्न चाहेको थियो। पछि त्यो डिल अगाडि बढ्न सकेन।

त्यसपछि हिमालयन बैंकका अन्य संस्थापकहरुले उठाउने योजना बनाएका थिए। तर, डिल अगाडि नबढेपछि हिमालयन बैंकले मर्जरको बाटो रोजेको थियो।नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर आधा पुगेपछि टुंगिएको थियो। त्यसपछि हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो।

मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत सेयर स्वामित्व थियो। सिभिललाई प्रति सेयर ८१ रुपैयाँ हाराहारीमा गाभेपछि हबिबको सेयर स्वामित्व साढे ११ प्रतिशत हाराहारीमा खुम्चिएको छ। यही सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्न लागेको हो।

हिमालयन रिले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेको छ। सेयरका आजदेखि आवेदन खुलाइएको छ। त्यसपछि आम सर्वसाधारणलाई सेयर जारी गर्ने कम्पनीको तयारी छ।
मंसिरमा सेयर जारी गरेर पुसभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गर्ने योजना कम्पनीको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर जारी गरेको हो। सेयर बिक्रीपछि हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।

हिमालयनले सिभिललाई ८१ रुपैयाँका दरले गाभ्दा जुन १९ रुपैयाँ जोगिएको छ, त्यसको कर तिर्न सरकारले भनेको छ। करको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यो छिनोफानो नहुन्जेल सेयर बिक्री गर्न दिन मिल्दैन।

हिमालयन रिमा शेखर गोल्छा अध्यक्ष छन् भने शाहिल अग्रवाललगायत सञ्चालक छन्। प्रमुख लगानीकर्ता दीपक भट्ट हुन्।निजी क्षेत्रको पहिलो र देशकै दोस्रो पुनर्बिमा कम्पनी हिमालयन रिले पछिल्लो समय सम्पति वृद्धि र लगानी विस्तारलाई केन्द्रमा राखेको छ।

होटल डेला अन्नपूर्णको जग्गा खरिदका लागि पनि कम्पनीले यसअघि नै प्रकृया अगाडि बढाइसकेको छ। हदबन्दीका कारण होटलका सञ्चालकले बिक्री गर्न सकिरहेका छैनन्। वर्ष दिनदेखि प्रकृया अड्किएपछि हिमालयन रि हिमालयन बैंकमा छिर्न लागेको हो।

कम्पनी स्रोतका अनुसार, खरिद बिक्रीका बारेमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुराकानी भइसकेको छ। अधिकारीले ‘ग्रिन सिग्नल’ दिएपछि ‘फिट एण्ड प्रोपर टेस्ट’ का लागि प्रकृया अगाडि बढिरहेको छ।तर, त्यहाँका उच्च अधिकारीहरुले भने यस बारेमा आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

स्रोतका अनुसार हिमालयनले सिभिललाई ८१ रुपैयाँका दरले गाभ्दा जुन १९ रुपैयाँ जोगिएको छ, त्यसको कर तिर्न सरकारले भनेको छ।

हिमालयन रिको स्रोतका अनुसार प्रति कित्ता १२५ रुपैयाँका दरले सेयर खरिद गर्न सहमति भइसकेको छ। यो सहमति हबिब र हिमालयन रिबीच अनौपचारिक रुपमा भएको स्रोतको दाबी छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*