हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ३ लाख भन्दा बढी आवेदन

२७ मंसिर २०८०, बुधबार १७:५४

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा ३ लाख भन्दा बढी आवेदन परेका छन् । आजदेखि खुलेको कम्पनीको आईपीओमा पहिलो दिन नै ६० लाख ३० हजार ७८० कित्ताको शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ३ लाख ३७ हजार ९६४ वटा आवेदन परेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले केयरएनपी आईआर ए माइनस रेटिङ प्रदान गरेको छ।यसले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*