सुर्यज्योति लाइफद्धारा झुठो विवरण बुझाएर कर छली, कूल आय- लेखापरीक्षणमा एक अर्ब ४८ करोड, कर कार्यालयमा जम्मा ४९ करोड

३ पुष २०८०, मंगलवार १६:५९

काठमाडौं । सुर्यज्योति लाइफको रुपमा एकीकृत कारोबार गरिसकेपछि साविक सूर्या लाइफ र ज्योति लाइफको अघिल्लो आव अर्थात आव २०७८।०७९ को वित्तीय विवरण पेश गर्दा कर कार्यालयमा झुठो विवरण पेश गरेको तथ्य बीमापोष्टले फेला पारेको छ ।

दिन दहाडै नेपाल सरकारलाई बुझाउनुपर्ने कर छली गरेको सो कम्पनीका लेखा प्रमुख र सिईओमाथि कारवाही गर्न नियामक नेपाल बीमा प्राधिकरणले कुनै चासो देखाएको छैन । रोचक कुरा के छ भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारले कर सम्बन्धमा नियामक नेपाल बीमा प्राधिकरणलाई सोधपुछ गर्दा समेत बनावटी र झुठा जवाफ लेखेर पठाएको तथ्य खुलेको छ ।

साविक ज्योति लाइफले आन्तारिक राजश्व कार्यालय पोखरामा आव २०७८।०७९ को प्रविष्ट गरेको वित्तीय विवरणमा कम्पनीले तिर्नु बुझाउनुपर्ने कर शून्य देखाइएको छ । त्यस्तै, कम्पनीको कर योग्य आम्दानी ऋणात्मक देखाएर सरकारलाई तिर्नु बुझाउनुपर्ने कर छली गरेको पाइएको छ ।

 

साविक ज्योति लाइफको तर्फबाट मिति २०७९ फागुन १८ गते पोखरास्थित कर कार्यालयबाट लिएको कर चुक्ता प्रमाणपत्र नं ८३६७ मा कम्पनीले कर छली गरेको स्पष्ट खुलेको छ । सो करचुक्ता प्रमाण पत्रमा कम्पनीको कूल कारोबार रकम ४९ करोड ७९ लाख ६० हजार ५८५ रुपैयाँ उल्लेख छ । त्यस्तै, सो आम्दानी गरेबापत कम्पनीको कूल करयोग्य आय माइनस एक अर्ब ४८ करोड ७४ लाख ६६ हजार ७०१ रुपैयाँ उल्लेख छ । यसको अर्थ कम्पनी घाटामा गएको पुष्टि हुन्छ । सो बापत कम्पनीले दाखिला गरेको कर रकम शून्य छ । जुन उसैको बार्षिक साधारणसभामा पेश गरेको लेखा परिक्षण प्रतिवेदन अनुसार झुठो हो ।

मर्जरपछि बनेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं बार्षिक साधारणसभा २०८०।०२।०४ गते विराटनगरमा सम्पन्न भएको थियो । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७८।०७९ को वित्तीय विवरण पारित भएको देखिन्छ । सो साधारणसभाबाट पारित भएको वित्तीय विवरणका अनुसार कम्पनीले २६ करोड ८० लाख ४५ हजार ९०५ रुपैयाँ मुनाफा गरेको अध्यक्ष केशव प्रसाद भट्टराईको मन्तव्यमा उल्लेख छ ।

कम्पनीको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मुनाफा ३९ करोड ३० लाख ६२ हजार ३६३ रुपैयाँ रहेको देखिन्छ । कर कार्यालयलाई ढाँटेको ज्योति लाइफको एकीकृत आम्दानी समेत कर कार्यालयमा प्रविष्ट गरेको विवरणसँग मेल खाँदैन ।

१५ औं बार्षिक साधारणसभाबाट पारित ज्योति लाइफको बार्षिक वित्तीय विवरणबाट

कर कार्यालयमा ज्योति लाइफको कूल आम्दानी ४९ करोड ७९ लाख ६० हजार ५८५ रुपैयाँ रहेको छ । तर, लेखापरिक्षण प्रतिवेदनमा कम्पनीको कूल आम्दानी एक अर्ब ४६ करोड ३८ लाख ३६ हजार ६४८ रुपैयाँ रहेको देखिन्छ ।
यसरी फरक फरक विवरण कर कार्यालयमा पेश गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने कर रकम छली गर्ने धन्दामा वर्तमान सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ, अध्यक्ष र लेखा प्रमुख सक्रिय रुपमा लागि परेको देखिएको छ ।

 

नियामक निकाय बीमा प्राधिकरणले राज्यकोषमा करोडौं रुपैयाँ छली हुँदा समेत मौन रहँदै आएको आएको छैन, प्रोत्साहन समेत गर्दै आएको छ । सो कम्पनीमा कर छली भएको सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । सो उजुरीका आधारमा नियामक नेपाल बीमा प्राधिकरणलाई पत्र काटेर स्पष्टिकरण सोधेका थियो । तर, प्राधिकरणले उल्टै केही कारवाही नगरी संरक्षण गरेको प्राप्त तथ्यहरुले औल्याएको छ । प्राधिकरणले एउटा पत्र काटेको जस्तो नाटक गरेर सो प्रकरणमा अख्तियारले भन्दा समेत कारवाही गरेको थिएन ।

कर छली सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा कम्पनीका सूचना अधिकारी उमेश मैनालीले तथ्यमा आधारित रहेर समाचार लेख्न सुझाव दिए ।

One thought on “सुर्यज्योति लाइफद्धारा झुठो विवरण बुझाएर कर छली, कूल आय- लेखापरीक्षणमा एक अर्ब ४८ करोड, कर कार्यालयमा जम्मा ४९ करोड

  1. Rajesh says:

    अनि करचुक्तामा त १४८७४६६७०१ नै छ त त्याे भनेकाे ४९ कराेड हाे की कती हाे ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*