सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा

१३ पुष २०८०, शुक्रबार २१:५४

काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीको अनैतिक व्यापारिक रणनीतिका कारण एक बीमितले परिवारसहित आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बीमा प्राधिकरणमा लिखित उजुरी दर्ता गराएको तथ्य प्राप्त भएको छ ।

बीमापोष्टलाई प्राप्त भिमसेन गोला काठमाडौंका घिमिरे थरका पीडितले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सम्बोधन गरी २०७९ साल फागुनमा लिखित रुपमा दर्ता गरेको उजुरीमा सुर्यज्योति लाइफका सिईओ प्रकाशविक्रम खत्री र उनका बीमा एजेन्ट दिलिप बिष्टका कारण आफू परिवारसहित सामूहिक आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै रोदन र चित्कार व्यक्त गरेका छन् । झुक्याएर र जबरजस्ती एक करोड रुपैयाँको बीमा गराएकोले उक्त बीमा पोलिसी रद्द गराउन रोइ कराई गरेका पीडितलाई उल्टै ज्योति विकास बैंकमा बीमा पोलिसी धितो राखेर ऋण निकालेर थप ऋणको भारमा पारेको तथ्य खुलेको छ । नियामक नेपाल बीमा प्राधिकरणमा बीमा पोलिसी रद्द गराउन माग सहित उजुरी दर्ता गराएका थिए । सो सम्बन्धमा नियामक नेपाल बीमा प्राधिकरण समेत बीमा कम्पनीकै पक्षमा मिलेमतो गरेर आफूलाई न्याय नदिएको पीडितको गुनासो छ ।

पीडितले उजुरीमा उल्लेख गरेको घटनाक्रम अनुसार अम्बिका तिमल्सिना नाम गरेको व्यक्ति र तत्कालिन ज्योति लाइफका बीमा अभिकर्ता दिलिप बिष्टको मिलेमतोमा पैसा नहाली एक करोड रुपैयाँको बीमा गराउने सम्बन्धमा छलफल हुन्छ । त्यस लगत्तै खनाल थरका ज्योति लाइफका प्रदेश प्रमुखसँग पनि भेटघाट गराइन्छ । त्यसपछि एक करोड रुपैयाँको बीमा गरिदिने, सो बीमा गर्ने पैसा बीमा अभिकर्ता बिष्ट र अम्बिका तिमल्सिनाले मिलेर हालिदिने कुरा हुन्छ ।

सो अनुसार अम्बिका तिमल्सिनाले ७५ लाख रुपैयाँ जम्मा गरेको र २५ लाख रुपैयाँ आफूलाई खोज्न दवाव दिएको पीडितले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । पीडित घिमिरेले आफूसँग २५ लाख रुपैयाँ नभएको र एफडि बीमा पोलिसी पनि आवश्यक नभएको भनेर पटक पटक आग्रह गर्दा पनि बीमा अभिकर्ताहरुले बीमालेख आइसकेको र अब फिर्ता नहुने भन्दै बलजफ्तीपूर्वक रकम हाल्न लगाएको खुलेको छ ।

पीडितका अनुसार एक करोडको बीमाको लागि ७५ लाख रुपैयाँ पैसा हालिदिने अर्की अम्बिका तिमल्सिनाले विष सेवन गरेर आईसियुमा राखिएको भिडियो पठाएर ब्लाकमेलिङ गरी जबरजस्ती २५ लाख रुपैयाँ हाल्न लगाएका थिए । उनले २५ लाख रुपैयाँ हालेपछि बलजफ्ती एक करोडको तत्कालिन ज्योति लाइफको बीमा पोलिसी भिराएको आरोप लगाएका छन् । पीडितका अनुसार केही पछि नै अनेकन बहाना पारेर अम्बिकाले हालिदिएको ७५ लाख रुपैयाँ समेत फिर्ता गरिएको र एक वर्षमै तपाईको खातामा ८५ लाख रुपैयाँ आउँछ भनेर आश्वासन दिएकोमा हालसम्म पनि नपाएको भन्दै पीडितले लेखेको उजुरीमा उल्लेख गरेका छन् ।

नेपाल बीमा प्राधिकरणमा सो विषयमा छलफल समेत भएको र झुक्याएर बीमा गरिएको विषयमा पटक पटक पीडित पक्ष घिमिरे र बीमा कम्पनी सुर्यज्योति लाइफका बीचमा वार्ता भएको पुष्टि गरेको छ ।

बीमा पोलिसी जारी हुने वित्तिकै त्रुटी भएमा महिनादिनभित्रैमा सच्याउन सकिने, भएपनि सिईओ प्रकाश बिक्रम खत्रीले ति पीडित घिमिरेलाई न्याय नदिएको, बीमा पोलिसी जारी भएको दुईदिन भित्रैमा बीमा पोलिसी रद्द गर्न माग गर्दा सुनुवाई नगरेको र स्वयम् सिईओ प्रकाश बिक्रम खत्रीलाई आफ्नो अवस्थाबारे जानकारी गराई आत्महत्या गर्ने अवस्थामा पुगेको भनेर रोई कराई गर्दा समेत कुनै सुनुवाई नगरी अमानवीय व्यवहार देखाएको पीडितको गुनासो छ ।

 

उनले बीमा प्राधिकरणमा दर्ता गरेको लिखित उजुरीमा श्रीमती र दुई बालबच्चासहित आत्मदाह गर्ने निधो गरेको उल्लेख गर्दा समेत नियामक बीमा प्राधिकरणले न्याय नदिएको तथ्य समेत भेटिएको छ । एक थान बीमा पोलिसी बिक्री गर्न बीमितलाई आत्महत्या गर्ने अवस्थामा पुर्याएको भिमसेन गोलाका घिमिरे प्रकरणबारे जिज्ञाशा राख्दा कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीले फोन उठाएनन् भने सिईओ प्रकाश बिक्रम खत्री सम्पर्कमा आउन चाहेनन् ।

एउटा सोझो र आफ्नो पेशा व्यवासाय गरेर सामान्य जीवन यापान गर्दै आइरहेको भिमसेन गोलाका घिमिरे थरका ति पीडितलाई तत्कालिन ज्योति लाइफले एक करोड रुपैयाँ ऋणमा फसाएर झुक्याई बीमा गराएर आफ्नो हिसाब किताब उत्कृष्ट देखाउन सफल भएको यस घटनाले पुष्टि गरेको छ । बीमा क्षेत्रका प्रभावकारी नियमन गर्ने दायित्व बोकेको नियामक बीमा प्राधिकरणमा फास्लाङ फुस्लुङ पारेर जबरजस्ती बीमा पोलिसी बिक्री गर्ने धन्दा चलाउँदै आएको तत्कालिन ज्योति लाइफको प्रवृत्ति कतै हालको सूर्यज्योति लाइफमा त सरेको छैन । आम जनता बीमा गर्नुअघि सचेत हुनुपर्ने देखिएको छ ।

One thought on “सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा

  1. krishna p.ojha says:

    बिमित तथा पिडितको पत्र टुक्रा टुक्रा काटेर देखाइएको छ।पूरा निबेदन हेर्न पाए प्रतिक्रिया सजिलो हुने थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*