सिद्धार्थ बैंकको गज्जबको सेवा : क्रेडिट कार्डमा मोज गर्ने एउटा, ऋण अर्कैको थाप्लोमा

१५ पुष २०८०, आईतवार १७:५८

काठमाडौं । बैंकको सिस्टम नचल्ने, सिस्टमका कारण प्रयोगकर्ताको कारोबार गडबड हुने र स्वयं बैंकका कर्मचारीबाटै निक्षेपकर्ताको रकम चोरी हुने घटना नौला होइनन् । प्रविधिको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरु थप स्मार्ट हुँदै गएका छन् । र, स्मार्ट कारोबारका लागि केवाईसी अनिवार्य गरिएसँगै कसैले कसैलाई झुक्याउन पाउँदैनन् भन्ने गरिन्छ ।

तर, सिद्धार्थ बैंकले अर्कैको वैयक्तिक विवरण एवं कागजात दुरुपयोग गरेर जारी गरिएको क्रेडिट कार्डमार्फत ऋण प्रवाह गरेर आफ्नै बचतकर्तालाई धोका दिएको छ । ललितपुरका एक बचतकर्ता क्रेडिट कार्डको लागि एप्लाई गर्न जाँदा आफ्नो नाममा पहिल्यै क्रेडिट कार्ड जारी भइसकेको र उल्टै ८० हजार ऋण रहेको जानकारीले हैरान छन्।

क्रेडिट कार्डको एप्लाई गर्न सिद्धार्थ बैंक पुगेका रन्जन रिमाल आफ्नो नाम पहिल्यै कर्जा सूचना केन्द्रको कालोसूची परेको विवरणले तनावमा परेका हुन् । कर्जा सूचना केन्द्र लिमिटेडले ८० हजार ऋण नतिरेको भन्दै रन्जनलाई कालोसूचीमा राखेको छ।

आफुले पहिले काम गरेको कम्पनीका सञ्चालकले यो बदमासी गरेको थाहा पाइसकेको बताए पनि रिमालले उक्त कम्पनीको नाम उल्लेख नगर्न बीमापोष्टलाई आग्रह गरे । आफ्नो नाममा जारी क्रेडिट कार्डबाट पटक–पटक कारोबार भएको भए पनि बैंकले कुनै पनि जानकारी नदिनुले अचम्म परेको उनले बताए । केवाईसी अपडेटका क्रममा समेत बैंकले यसमा ध्यान नदिनुले खराब नियत प्रष्ट भएको रिमालले सुनाए । यसले डकुमेन्टको दुरुपयोग गर्नेको बदमासीमा बैंक समेतले साथ दिएको प्रष्ट भएको उनको तर्क छ ।

कालोसूचीमा परिसक्दा समेत आफुलाई यसबारे जानकारी नदिइनुले बैंकको प्रणाली र व्यवस्थापनमाथि नै प्रश्न उठेको रिमालको भनाई छ । रिमालले भने, ‘यो त धान खाने मुसा, चोट पाउने भ्यागुताको कहानी भएन र ?

बैंकले कसरी अर्काको नाममा क्रेडिट कार्ड जारी गरेर अर्कैलाई कारोबार गर्न दियो ? के सिद्धार्थ बैंकमा त्यसरी कारोबार गर्न छुट छ ? भनी यसबारे जानकारी लिन खोज्दा सिद्धार्थ बैंकका चिफ गभर्नेन्स ह्याण्डेलिङ अफिसर सुरेशराज महर्जन सम्पर्कमा आएर पनि जवाफ दिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*