सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा पोलिसी बिक्री गर्न जग्गा धितो राखेर २७ लाख ऋण प्रवाह, मालपोतमा ऋणीको आमाको नामको जग्गा रोक्का

१८ पुष २०८०, बुधबार ११:२७

काठमाडौं । हालको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर पुनः बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको तथ्य फेला परेको छ ।
बीमितमाथि जबरजस्ती बीमा गराएर बीमितिले नै आत्महत्या गर्ने अवस्थामा पुर्याएको घट्ना सेलाउन नपाउँदै अर्का पीडितलाई गैर कानुनी रुपमा जग्गा धितो राखी ऋण दिएर पुनः सोही ऋण बापतको रकमले एकल बीमा पोलिसी बिक्री गरी पछि सरेण्डर गराई ठगी गरेको तथ्य फेला परेको छ ।

मालपोत कार्यालय नुवाकोटबाट प्राप्त कागजातमा तत्कालिन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले २०७७ माघ २१ गते चलानी नं १६१६ बाट मालपोत कार्यालय नुवाकोटलाई पत्र लेखेरै नुवाकोट जिल्ला बिदुर नगरपालिका ४ का २२ बर्षिय श्रेष्ठ थरका ऋणीको आमाको नामको जग्गा रोक्का राखेको भेटिएको छ ।

७८६५÷२०७७।११।१२ गते मालपोत कार्यालय नुवाकोटबाट पारित दृष्टिबन्धक लिखतमा निजकी आमाको नाममा रहेको नुवाकोटकै बिदुर २ को पाँच आना जग्गा रोक्का राखिएको तथ्य भेटिएको हो । बीमा सेवा गर्न भनेर बीमा प्राधिकरणबाट लाइसेन्स पाएको तत्कालिन सुर्या लाइफले गैर कानुनी रुपमा बीमितहरुलाई झुक्याएर एकल बीमा पोलिसीमा १० प्रतिशत मुनाफा हुने भन्दै जग्गाधितो राखेर ऋण दिलाएको देखाएर बीमा गराई पछि सरेण्डर समेत गराएर ठगी गरेको तथ्य यस घटनाले उजागर गरेको छ ।

 

पीडित ऋणी बीमा अभिकर्ता मात्रै नभई बीमित समेत भएको तथ्य खुलेको छ । निजलाई सुर्यज्योति लाइफका न्यूरोड शाखाका प्रमुख प्रदिप लामाले झुक्याएर बीमा गराउनकै लागि अभिकर्ता बनाएको र अभिकर्ता बनाए लगत्तै जग्गा धितो राखी २०७७ साल फागुन २१ गते २७ लाख रुपैयाँ ऋण प्रवाह गरेको र सो रकम मध्ये १७ लाख रुपैयाँको एकल बीमा पोलिसी बिक्री गरेको तथ्य प्रमाणहरुले औल्याएको छ । उक्त बीमा पोलिसी दुई वर्षपछि सरेण्डर गराएर जम्मा छ लाख रुपैयाँ मात्रै फिर्ता गरेको देखिएको छ ।

बीमा भन्दा पनि ठगी गर्ने उद्देश्यले बीमा पोलिसीकै लागि ऋणी दिने कार्य गैर कानुनी भएको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले भने, ‘जग्गा धितो राखेर ऋण दिन पाइदैन, दिएको रहेछ भने कारवाही हुन्छ ।’ रोचक कुरा के छ भने उक्त गैर कानुनी कार्यबारे पीडितले पटक पटक सिईओ प्रकाश बिक्रम खत्रीलाई भेटेर आफू ठगिएको बारे लिखित र मौखिक रुपमा गुनासो गर्दा समेत कुनै सुनुवाई नगरेको भेटिएको छ । पीडितको जुनसुकै प्रकारको गुनासो सुनुवाई नगर्ने र ‘रत्नपार्कमा १०० रुपैयाँमा किनेको सामान बिक्री भएपछि फिर्ता हुदैन’ भन्ने सिईओ प्रकाश बिक्रम खत्रीको कार्यशैलीका कारण बीमितहरु मारमा पर्न थालेका छन् ।

उता, कम्पनीका सूचना अधिकारी उमेश मैनालीले पुरानो कुरा भएकोले आफूले बुझ्नुपर्ने बताए । त्यस्तै, उक्त गैर कानुनी कार्य हुँदाका बखतमा सिईओ रहेका पवन खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*