चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय ९१ अर्बले बढ्यो, एनआईसीलाई पछ्याउँदै नबिल, कसको कति ?

१९ पुष २०८०, बिहीबार १३:०३

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय बढेको छ । २० वाणिज्य बैंकले चार महिना अर्थात् कार्तिक मसान्तसम्ममा ९१ अर्ब १३ करोड ९६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ८ अर्बको व्यवसाय विस्तार गरेका थिए । जुन गएको कार्तिक मसान्तसम्म आइपुग्दा ९१ अर्ब १३ करोडले बढेर ४४ खर्ब पुगेको हो ।

असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म आइपुग्दा चार वाणिज्य बैंकको व्यवसाय भने खुम्चिएको छ । २०८० असार मसान्तको तुलनामा कार्तिकसम्म आइपुग्दा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुको व्यवसाय खुम्चिएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कर्जा प्रवाह ६ अर्ब १४ करोडले खुम्चिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ अर्ब ७१ करोड, लक्ष्मी सनराइजको ५७ करोड ६० लाख र प्रभु बैंकको २ अर्ब ७६ करोडले कर्जा प्रवाह खुम्चिएको हो ।

एनआईसी अघिअघि नबिल पछ्याउँदै
यस अवधिमा एनआईसी एशिया बैंकको व्यवसाय ३० अर्ब २७ करोडले बढेको छ । नबिलले एनसाईसीलाई पछ्याएको छ । नबिल बैंकले चार महिनामा २२ अर्ब २२ करोडले व्यवसाय विस्तार गरेको छ । व्यवसाय विस्तारको आधारमा तेस्रो स्थानमा प्राइम कमर्सियल बैंक छ । यो बैंकले कात्तिक मसान्तसम्म १३ अर्ब ६९ करोडले बढाएर १ खर्ब ७६ अर्ब बनाएको छ ।

अन्य कसको कति ?
सानिमा बैंकले पछिल्लो चार महिनामा ३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ । २०८० असार मसान्तसम्म बैंकले १ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेकोमा कार्तिकसम्म आइपुग्दा ३ अर्ब ५४ करोडले कर्जा बढाएर १ खर्ब ५३ अर्ब बनाएको छ ।

प्रभु बैंकको कर्जा २ अर्बले घटेर २ खर्ब ३९ अर्बमा सीमित देखिएको छ । एनएमबी बैंकले भने २ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ । सिटिजन्स बैंकले २ अर्ब ४५ करोड, कृषि विकास बैंकले ५ अर्ब ९० करोड, सिद्धार्थ बैंकले २ अर्ब ९० करोड, कुमारी बैंकले ४ अर्ब ३३ करोड, माछापुच्छ्रे बैंकले ३ अर्ब १ करोड, एभरेष्ट बैंकले ६ अर्ब २० करोड नेपाल एसबीआई बैंकले ५७ करोड र हिमालयन बैंकले ३ अर्ब ६१ करोड कर्जा बढाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ६७ करोड र नेपाल बैंकले १ अर्ब १९ करोडले कर्जा बढाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*