विदेशीको इसारामा तपस्वी बम्जनमाथि राज्य आतंक, सीआईबीको ‘अपरेशन ब्लू’ शंकास्पद

२६ पुष २०८०, बिहीबार १४:१७

काठमाडौं । बाराको हल्खोरियामा तपस्यामा बसेदेखि आम नागरिकको विश्वास जितेर आसपासलाई मानवीय चलहपहल र व्यापारिक केन्द्र बनाएका रामलाल बम्जन अर्थात् तपस्वी रामबहादुर बम्जन अहिले चर्चाको विषय बनेका छन् ।
प्रहरीले सुनियोजित एवं छापामार शैलीमा काठमाडौंको बुढानीलकण्ठ -६ हात्तीगौंडाबाट पक्राउ गरेसँगै बम्जनबारे सर्वत्र चर्चा भइरहेको हो । प्रहरीले सार्वजनक गरेका तथ्य वरपर मात्रै बाहिरफेरा तर्कवितर्क भइरहेको छ भने बम्जनलाई हत्कडी लगाउन अगुवाई गर्ने ‘जुँगे’ प्रहरीले वावाही पाइरहेका छन् ।

तर, उनै जुँगे केन्द्रीय अनुसन्धा व्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले प्रहरीले गरेको अधर्मको ‘लुप होल’ खोल्दिएका छन् । उनी नेतृत्वको पिल्लर नम्बर १ ले बम्जन पक्रिन चलाएको ‘अपरेशन ब्लू’को शाब्दिक अर्थ वा प्रयोजनबारे भण्डारी आफैंलाई थाहा रहेनछ । उनले भनेका छन्, ‘यसको शब्दीक केही छैन । विशुद्ध सेक्युरिटी मेन्टेनका लागि व्यूरोले दिएको कोडिङ मात्रै हो ।’ यसले कतै यो बनिबनाउ योजना त होइन भन्नेतर्फ संकेत गरेको छ ।
उनले आफ्नो पिल्लरलाई रहेको टीओआर समेत विर्सेर ‘अपरेशन ब्लू’को मिसन पूरा गरेका छन् । उनी नेतृत्वको पिल्लर १ लाई हत्या अपहरण, बलात्कार, बम विस्फोटलगायत घटनाको अनुसन्धान गर्ने टिओआर छ ।

बम्जन पक्राउको सिलसिलामा उनको टोलीले त्यसको कुनै पनि प्रक्रिया वा न्यूनतम सिद्धान्त अपनाएको छैन । यतिसम्म कि डीएसपी भण्डारीको टोलीले भित्रै जिमखाना रहेको आलीशान महल बम्जन आफैंले खरिद गरेका वा कसैले दिएको भन्नेबारे समेत अनुसन्धान नगरेको भेटिएको छ । प्रहरीले सार्वजनिक गरेको विवरणमा उनी भाडाको घरमा बस्थे वा आफ्नै घर थियो भन्नेबारे केही बताइएको छैन भने उनको साथबाट जफत गरिएको रकम र विदेशी मुद्रा कहाँबाट कसरी आयो भन्नेबारे पनि केही जानकारी दिइएन ।

अर्कोतर्फ बम्जनमागि लागेका आरोपबारे अहिलेसम्म प्रहरीले कुनै ठोस सबुत भेट्टाउन सकेको छैन । बम्जनविरुद्धको प्रहरीले जुटाउनु पर्ने सबैभन्दा ठूलो प्रमाण हो, नाबालिगमाथिको यौन शोषण । यसबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको छ । सर्लाही प्रहरीले ले अनुसन्धान सकाएर प्रस्तावित राय जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । पूरक अनुसन्धान गर्ने बाटो खुल्ला भए पनि बम्जनलाई दोषी करार गर्ने ठोस सबुत प्रहरीसँग छैन ।

यस्तै, व्यक्ति हत्या र व्यक्ति बेपत्ता सम्बन्धी आरोपबारे पनि प्रहरीलाई ठोस प्रमाण हात लागेको छैन । बम्जनका अनुयायी चीनीमाया तामाङ, फुलमाया रुम्बा, सुरेशकुमार आले र सञ्चलाल वाइबा बेपत्ता छन् । व्यूरोले सार्वजनिक गरेको विवरणमा नुवाकोटकी चिनीमाया २०६९ असोजबाट सम्पर्कमा छैनन् । हेटौडाका फुलमाया २०७१ माघबाट बेपत्ता भइन् । २०७१ चैतमा हेटौँडाका सञ्चलाल हराएका थिए । २०७२ जेठमा सुरेशकुमार आले हराएको विवरण छ । यीमध्ये कोही पनि फेला परेका छैनन् ।

हेटौँडा वनस्पति टोलका सञ्चलाल र फुलमाया सिन्धुपाल्चोकको टोड्केभिर आश्रमबाट बेपत्ता भएको आधारमा प्रहरीले अनुसन्धान त्यता केन्द्रित गरेको थियो । तर, कुनै उपलब्धि हात लागेन । २०७० असोज ४ बाट सिन्धुपाल्चोकको आश्रममा बसेका थिए । सञ्चलाल २०७२ वैशाख १२ को भूकम्पको केही महिनापछि मात्र त्यहाँको यो आश्रमबाट हिँडेका थिए ।

सञ्चलालको त्यही आश्रममा हत्या गरेर गाडेको सूचनाको आधारमा सिआइबीको टोली गएर अनुसन्धान गरेको थियो । आश्रमभित्रै सञ्चलालको हत्या गरेर शव गाडेको र शव गलाउन २० पोका बढी नुन हालेको सूचनाको आधारमा प्रहरीले आश्रमभित्रको शंकास्पदस्थानमा खन्दा माटो खुकुलो रहेको र पाँच फिटजति खनेपछि नुनका खाली प्याकेटहरू फेला पारेको थियो ।

नुन प्रयोग गरेको भए पनि मानव हड्डीका अवशेषहरूसम्म फेला परेनन् । केहीले नुनले शव गलाएपछि हड्डीहरू निकालेर नजिकै अर्को स्थानमा लगेर जलाएको र जहाँ कोइलाहरू फेला परेको बताएका थिए । प्रहरीले फरेन्सिक परीक्षण गर्न कोइला सङ्कलन गरेको थियो, त्यसको रिपोर्टबाट पनि खासै केही उपलब्धि भएन ।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाई उनी ३ महिनामात्रै बसेर सर्लाहीको पत्थरकोट गएका थिए । पछि, २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेका छन् । कमलामाई नगरपालिका ८ स्थित पैरेमा ठूलो सुरक्षा घेराभित्र उनको आश्रम छ ।

बाराको हलखोरिया वन क्षेत्रको एक हजार बिघा जग्गा ओगटेर अर्को आश्रम बनाएका थिए । २०६३ देखि २०७० सम्म बम्जन हलखोरियाको वनमा नमो बुद्ध तपोवन आश्रम सञ्चालन गरेर बसे । उक्त आश्रममा बस्दा बम्जनका अनुयायीमाथि व्यक्ति बन्धक बनाएको, स्थानीयमाथि हातपात गरेको आरोप लागेको थियो । कारण उनकै कारण उक्त क्षेत्रमा व्यापार व्यवसाय बढेको धेरैलाई मन परेको थिएन ।

भारतमा पनि सत्य साईबाबा बसेपछि अनन्तपुरको मुहार नै फेरिएको थियो । त्यो सहन नसकेपछि षड्यन्त्रपूर्वक उनलाई बलात्कारको मुद्दा लगाइएको थियो । नेपाल प्रहरीका पूर्व एसएसपी एवं नर्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले बम्जन आफुले चिने जानेको व्यक्ति नभए पनि एकोहोरो रुपमा लखेटिएकोप्रति आफ्नो आपत्ति रहेको बताएका छन् । उनले भने, ‘आफुसहित आफ्ना वरपरका लागि हित हुने कार्यका लागि कोही तपस्या गर्दछ भने उसले गरेका कार्यको गुण र दोष छुट्याइनु पर्दछ । एकोहोरो धारणा बनाइर लखेट्ने र रमाउने प्रवृत्ति राम्रो होइन । यो रोगले सग्लाहरुलाई पनि खान्छ ।’

नेपाली क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट वर्षेनी ८-१० करोड नेपाललाई दिलाइरहेको खेलाडीलाई एकोहोरो लखेटेर निमिट्यान्न पारिएको घटनाजस्तै शंकास्पद छ, बम्जन पक्राउ प्रकरण । कसैभित्रका असल गुण देख्न नसकेर षड्यन्त्रपूर्वक निस्तेज पार्ने प्रवृत्तिले मुलुकलाई कहिल्यै फाइदा नहुने उनको भनाइ छ । अर्कोतर्फ धार्मिक हिसाबले नाम कमाएका व्यक्तिलाई त्यसरी धरपकड गर्ने प्रवृत्तिले समाजलाई अग्रदिशा नदिने कुँवरको तर्कछ । कुँवरले भनेका छन्, ‘प्रहरीभित्र पनि ठूलो विचलन आइसकेको छ । हिरोइज्म बढेर गएको छ । लोभ, लालच व्यापक पलाएको छ । फुर्ती के लगाउनु प्रहरीले खाइरहेको तलब र मैले आइरहेको पेन्सन समेत एडीबी लगायतका दाताकै ऋण हो ।’

उता, अधिवक्ता एवं नागरिक अगुवा स्वागत नेपालले पश्चिमाहरुको डिजाइनमा बम्जनलाई पक्रिएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘आफ्नै मौलिक वुद्धिजमलाई प्रवद्र्धन गर्न लागि परेका एक तपस्वीलाई पश्चिमाहरुको डिजाइनमा पक्रिनु भनेको सिंगो नेपाली संस्कारमाथिको प्रहार हो । यसको सबैले शसक्त प्रतिवाद गर्नुपर्छ ।’

अधिवक्ता नेपालले नेपाल आत्मनिर्भर नबनोस् र परनिर्भरता बढ्दै आफुहरुको गुलाम् बनोस् भन्ने डिजाइन अन्तर्गतका गतिविधि बढ्दै गएकाले आम नागरिक सचेत हुनुपर्ने बेला आएको बताएका छन् । अधिवक्ता नेपालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत विदेशी इसारामा चल्ने गिरोहको चंगुलमा परेर राज्यआतंक मच्चाउन उद्दत रहेको आरोप लगाएका छन् । उनले भने, ‘बम्जन अदालतले कैद सजाय तोकेको वा फरार प्रतिवादी होइनन् । उनीमाथिको आरोप नै पुष्टि गर्न नसकेको अवस्थामा यस्तो धरपकड मानवअधिकार विरोधी र धर्मिक आस्था विरोधी कदम हो ।’

अर्कोतिर अनुयायीले दिएको रकम धार्मिक गुरुको आश्रम वा घरबाट त्यसरी जफत गर्न नपाइने उनले बताएका छन् । उनका अनुसार राज्यको यो व्यवहार झनै धर्मविरोधी हो ।

सहप्रतिवादी रिहा
बम्जनसहित बाल यौन दुराचारको आरोपमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएका तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन, सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका जेबी गुरु भनिने जितबहादुर तामाङ दुबै धरौटीमा रिहा भइसकेका छन् ।

एक–एक लाख रुपैयाँ धरौटीमा बुझाएका तोप्चेङ महात्मा गुरु २०७९ भदौ १० मा र जेबी गुरु गएको मंसिर ६ गते रिहा भएका थिए । जिल्ला अदालत सर्लाहीले उनीहरुविरुद्ध ठोस प्रमाण नभटेपछि धरौटीमा रिहा गरिदिएको हो ।

One thought on “विदेशीको इसारामा तपस्वी बम्जनमाथि राज्य आतंक, सीआईबीको ‘अपरेशन ब्लू’ शंकास्पद

  1. Kalavati Paudel says:

    उनले किन्न लागेको भनेको टोयोटाको गाडीको मूल्य कम्पनीको वेभसाइटमा हेर्यो भने नेपाली २ करोड २० लाख छ । तर ५ करोडको गाडी किन्न लागेको भनेर हल्ला चलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*