पुनर्बीमा कम्पनीको चौथौ त्रैमास रिर्पोटः निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

२७ पुष २०८०, शुक्रबार ०८:४०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको छ ।

यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बीमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बीमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*