बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

३ माघ २०८०, बुधबार २१:११

काठमाडौं । बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका सिईओसँग स्पष्टिकरण लिइएको पुष्टि गरेका छन् । प्राधिकरण स्रोतका अनुसार सिईओ खत्रीसँग करिब एक घण्टा बयान लिइएको थियो । सो क्रममा खत्रीले चित्त बुझ्दो जवाफ दिन सकेनन् । बयान तथा सोधपुछको क्रममा सिईओ खत्रीले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार समेत गरेका छन् ।

सिईओ खत्रीले बयानको क्रममा गैर जिम्मेवार जवाफ समेत दिएका छन् । उनले सुर्या लाइफबाट भएको गल्ती कमजोरीमा आफू दोषी नहुने भन्दै पन्छिन खोजेका थिए । बीमाको व्यवसाय बढेको देखाउन बीमा अभिकर्ताको खातामा ऋण जारी गरेर ऋणीका आमा बाबुको बीमा गराएका थिए भने नौ लाख रुपैयाँ आफ्नै कम्पनीको शाखा प्रमुखको खातामा जम्मा गरेर ठगिएको थियो ।

सो काण्डमा दोखलाका २२ बर्षिया श्रेष्ठ थरका पीडित युवाले बीमा ऐनको दफा १०१ बमोजिमको बीमा जालसाजीमा छानविन हुनुपर्ने मागसहित उजुरी दिएका थिए । उजुरीको सम्बन्धमा प्राधिकरणले ७ दिने पत्र काटेको थियो । पत्रको जवाफ दिनु अघि नै सिईओ खत्रीसँग आज बयान लिइएको हो ।

अनैतिक तरिकाले बीमा व्यवसाय बृद्धि भएको देखाउन जबरजस्ती बीमा गराउने धन्दा चलाएको खत्री नै सिईओ रहेको ज्योति लाइफमा पनि यस्ता दर्जनौं काण्डहरु रहेको बताइन्छ । यसअघि घिमिरे थरका बीमितले तत्कालिन ज्योति लाइफले झुक्याएर बीमा गरेको र ज्योति लाइफकै कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै लिखित उजुरी बीमा प्राधिकरणमा गत वर्ष नै दर्ता गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*