जीवन बीमा कम्पनीको बीमा ब्यवसाय सुदूरपश्चिममा वृद्धि हुँदा कर्णालीमा भने घट्यो, अन्य प्रदेशमा कस्तो छ अवस्था ?

१५ माघ २०८०, सोमबार १४:२४

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा कर्णाली प्रदेशमा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशमा बीमा कम्पनीहरुले जनचेतना मुलक कार्यक्रमलाई शशक्त बनाउँदै लगेको भएपनि बीमा ब्यवसाय भने खस्किएको हो । बीमा अभिकर्तालाई अहम भुमिका निर्वाह गर्ने नसक्दा कर्णालीको बीमा शुल्क आर्जन घटेको देखिएको छ । अन्य ६ प्रदेशको बीमा शुल्कमा वृद्धि हुँदा कर्णालीका दुरदराजसम्म अझै बीमा ज्ञान नपुगेको देखिएको छ । पुष समान्तसम्मको तथ्याङ्क अनुसार कर्णालीबाट बीमा शुल्क आर्जन २९.९२ प्रतिशतले घटेर २ अर्ब ५ करोड ६६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

बीमा ब्यवसाय सर्वाधिक वृद्धि गर्नेमा सुदुरपश्चिम प्रदेश रहेको छ । यस अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २२.५३ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ५८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

हाल संचालित १४ जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् । बाग्मती प्रदेशले बीमा शुल्क आर्जन सबै भन्दा बढी रहेको छ । बाग्मतीबाट यस अवधिमा ३३ अर्ब ५४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा १.५० प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन गर्ने प्रदेशको दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीबाट यस अवधिसम्ममा ११ अर्ब ३६ करोड ३४ लाख रुपैयाँको बीमा शुल्क आर्जन भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरीएको छ । जुन गत वर्षको भन्दा १२.४२ प्रतिशतले बढी हो ।

यता, कोशी प्रदेशबाट ४.७३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड २० लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ६.५५ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ र मधेशबाट ०.७७ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*