दोस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, साढे छ अर्बको जीवन बीमा कोष, इपिएस २०.५२ रुपैयाँ

२१ माघ २०८०, आईतवार ०९:४६

काठमाडौं । सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले गत छ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । बीमाको दीगो विकास रणनीतिमा अघि बढेको कम्पनीको जीवन बीमा कोष र आम्दानी दुवैमा बृद्धि गर्न सफल भएको तथ्याङ्कले देखाएको छ ।

आज प्रकाशित अपरिस्कृत तथ्याङ्क अनुसार सन नेपाल लाइफको जीवन बीमा कोषको आकार १४.८१ प्रतिशतले बृद्धि भई छ अर्ब ५१ करोड नाघेको छ । अघिल्लो आवमा यस्तो कोषको आकार पाँच अर्ब ६७ करोड रुपैयाँ मात्र थियो ।

कम्पनीले कूल १० अर्ब १७ करोड रुपैयाँ लगानी गरी ४४ करोड ६२ लाख रुपैयाँ आम्दानी गर्न सफल सफल भएको छ । कम्पनीको लगानीबाट प्राप्त आय र ऋणबाट प्राप्त ब्याज आम्दानीमा ७० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यही बृद्धिका कारण कम्पनीको अन्य सूचांकहरु बलियो बनाउन सफल भएको देखिएको छ ।

सन नेपाल लाइफले कमिशन बापत १४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । यस अवधीमा कर्मचारी र व्यवस्थापन तथा कार्यालय खर्च सहितको कूल खर्च रकम एक अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च रकम एक अर्ब ५० करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीको कूल आय एक अर्ब ८५ करोडबाट बृद्धि भई दुई अर्ब नौ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधीमा सन नेपाल लाइफले कूल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड ९५ लाख ६४ हजार ४४८ रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले एक अर्ब ९६ करोड कूल बीमा शुल्क आम्दानी गरेको थियो । यद्यपि खुद बीमा शुल्क आम्दानी भने गत वर्ष र यसवर्षको बराबरी रहेको छ । गत वर्ष एक अर्ब ५८ करोड खुद बीमा शुल्क आम्दानी गरेकोमा यस वर्ष एक अर्ब ५८ करोड नै खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको खुद मुनाफा सामान्य अंकले घटेर ३५ करोड ३९ लाखबाट ३२ करोड ८४ लाखमा सीमित हुन पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको कुल कायम रहेको बीमा पोलिसी संख्या २.४४ प्रतिशतले बृद्धि भई आठ लाख ७२ हजारबाट बढेर आठ लाख ९३ हजार पुर्याउन सफल भएको छ ।

समीक्षा अवधीमा सन नेपाल लाइफको प्रतिशेयर आम्दानी २०.५२ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १८७.०४, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३९९.८१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*