‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार

२१ माघ २०८०, आईतवार १८:२८

काठमाडौं । पश्चिम नवलपरासी रामग्राम क्षेत्रको १२० विघा पुरातात्विक सम्पदास्थल विना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने सैद्धान्तिक सहमति दिएर वुद्ध अस्थिधातु समाधीस्थलमा अर्बौँको घोटाला मच्चाउन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामा (वास्तविक नाम-खेन्पो छिमे छिरिङ)ले हडपेको सार्वजनिक जग्गा खाली गराउन बुढानीलकण्ठ नगरपालिकाले फेरि पत्राचार गरेको छ ।

लामाले पर्ति जग्गा हडपेर बनाएको बुढानीलकण्ठ नगरपालिका २ गणेशचोकस्थित संरचना हटाउन भन्दै बुढानीलकण्ठ नगरपालिकाको कार्यापालिकास्तरीय निर्णय अनुसार पत्राचार भइसकेको वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले बीमापोष्टलाई बताए ।

उनका अनुसार गएको साता मात्रै कार्यपालिकाको बैठकले संरचना नहटाइए कानूनी प्रक्रिया अनुसार नगर प्रशासन आफैंले हटाउने निर्णय गरेर पत्राचार गरिएको हो । वडा कार्यालयले त २०७९ असो २ गते नै सार्वजनिक सूचना जारी गरेर सार्वजनिक जग्गामा रहेका अनाधिकृत संरचना हटाउन भनेको थियो । त्यो सूचना र त्यसपछिका पत्राचार लामाले अटेर गर्दै आएका थिए ।

उनको घरभित्र छिर्ने प्रवेशद्वार(गेट) र त्यसभित्र बनाइएको पार्किङ, आँगन सरकारी एवं पर्ति जग्गा पर्दछ । काँडेतारले घेबार गरेको जमिन र बाँसघारी समेत पर्तिजग्गा हो । जुन जग्गासँगै सुकुम्बासी बस्ती छ । उनले लगाएको काँडेतारबारले सँगै रहेको सुकुम्बासी बस्तीलाई समेत असर पारिरहेको छ । लामाको घरबाट बग्ने पानीले तलतिर बस्ने सुकुम्बासीलाई सकस भइरहेको छ ।

घरअघि ओरालोमा कालो लेदोमाटो बगेर बाटो अवरुद्ध भइरहने बहाना छोपेर लामाले आफ्नै लगानीमा २ करोड खर्चिएर पर्खाल लगाए । जुन पर्खालसँगै लामाले ६ आनाभन्दा बढी सरकारी जग्गा कब्जा गरे । नगरपालिका, जनप्रतिनिधिहरु लामाले सार्वजनिक जग्गामा लगाएको पर्खालले पहिरो तथा लेदो रोकिएको र अवरुद्ध भइरहने बाटो सञ्चालनमा आएकैमा मख्ख छन् । उनीहरु सार्वजनिक जग्गा ओगट्नु कानून विपरीत भए पनि नगरपालिकाले पर्खाल निर्माणका लागि गर्न नसक्ने लगानी लामा आफैंले गरेर बाटो सञ्चालनमा ल्याएको भन्दै गुणगान गाइरहेका छन् । पर्तिजग्गा कसैको भोगचलनमा हुन नहुने कानूनको सर्वमान्य मान्यता हो । जनप्रतिनिधिले त्यसमा मौका वा फाइदाको व्याख्या गरिरहेका छन् ।

लामालाई यस विषयमा पूर्ण जानकारी छ । तर, उनी यस विषयमा कसैले कुरा उठाएको सुन्न चाहँदैनन् । यस विषयमा समाचार प्रकाशन तथा प्रशारण गर्ने सञ्चारमाध्यम एवं सञ्चारकर्मीलाई उनले धेरै पल्ट धम्काइसकेका छन् ।

त्यति मात्रै होइन लामाले मुलुकी अपराध संहिताको प्रावधान विपरीत सार्वजनिक स्थलमा व्यक्तिगत सीसीटीभी जोडेका छन् । मुलुकी अपराध संहिताले सार्वजनिक स्थलको निगरानी गर्ने गरेर त्यसरी सीसीटीभी जोड्नु गैरकानूनी, भनेको छ ।

तर, लामाले सार्वजनिक स्थल अर्थात् सडकसम्मको निगरानी गर्न गेट बाहिरै सीसीटीभी जोडेका छन् । उनी आफुलाई भेट्न आउने व्यक्ति वा निकायका प्रतिनिधिलाई सीसीटीभी हेरेर व्यवहार गर्छन् । भेट्न मन नभए उनी घरभित्रै भए पनि बाहिर भएको नाटक गर्छन् भने उसैपरे पछाडिको बाटोबाट बाहिर निस्किएर भागिहाल्छन् ।

उनलाई धर्म वा नैतिकताको चेष्टा भएको भए उनी सार्वजनिक जग्गा हडप्दैन थिए होलान् भने, लुम्बिनी जस्तो पवित्र बौद्ध तीर्थको संरक्षण एवं प्रर्वद्धनार्थ स्थापित लुम्बिनी विकास कोषको कार्यकारी नेतृत्व हत्याउने थिएनन् । कारण उनले बहालवाला प्रधानमन्त्री प्रचण्डलाई नै कुनै समय ‘लुम्बिनीमा रहेको अशोकस्तम्भ बेचेर खान्छ कि भन्ने डर लागेको छ’ भनेका थिए । जतिबेला प्रचण्ड लुम्बिनीको विकासका लागि एशिया प्यासिफिक एक्सचेन्ज एण्ड को–परेशन फाउण्डेशन (एपेक)को उपाध्यक्ष थिए । प्रचण्ड कै आर्शिवादले सभासद बनेका लामाले पदमै हुँदा सार्वजनिक रुपमै त्यस्तो तुच्छ आरोप लगाएका थिए ।

बाँसबारी छालाजुत्ता जग्गा प्रकरणका दोषी उम्काउने दाउ
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अर्वपति उद्योगी विनोद चौधरीका भाई अरुण, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई उन्मुक्ति दिने प्रयत्न सुरु भएको छ ।

तीन महिना लामो अनुसन्धानपछि पक्राउ परेका यी तीन जनालाई छोड्न अनेक चलखेल हुन थालेको छ । जसरी ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु र एमाले नेता विष्णु पौडेलले उन्मुक्ति पाए । त्यसै प्रकारले यस प्रकरणमा उन्मुक्ति दिन प्रहरीले छिटो प्रतिवेदन बुझाउने तयारी गरेको छ । ललिता निवास प्रकरणमा आफु फस्ने भएपछि विष्णु पौडेल पार्टी अध्यक्ष केपी ओलीको जानको सट्टा शेरबहादुर देउवाको पछि हात धोएर लागि परेका थिए ।

देउवालाई भेट्ने माहोल मिलाइदिन उनले कयौँ दिन देउवा निकटका व्यक्तिहरुको दैलो चहारेका थिए । पछि जग्गा छोराका नाममा गरेर किन्नेहरुलाई मतियार नमान्ने प्रतिवेदन बनाइएपछि पौडेलले मुक्तिको सास फेरेका थिए । त्यसरी अहिले विनोदका भाइ अरुण र बाँसबारी जग्गा प्रकरणमा थुनिएकाहरुलाई उम्काउने जुक्ति निकालिएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*