दोस्रो त्रैमासमा नेशनल लाइफको उल्लेख्य प्रगति, ७१ अर्बको जीवन बीमा कोष, मुनाफा १६ प्रतिशतले बृद्धि

२३ माघ २०८०, मंगलवार ०७:२८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले बीमा व्यवसाय, जीवन बीमा कोष र मुनाफा सबैमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

नेशनल लाइफले गत पुस समान्तसम्ममा जीवन बीमा कोषमा ७१ अर्ब ४४ करोड २५ लाख ८१ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । गत आवको यसै अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोष ८.६० प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ६० करोड रुपैयाँ संचिती रहेको छ ।

चालु आवको अर्ध बार्षिक समीक्षासम्म आईपुग्दा नेशनल लाइफको बीमा व्यवसाय ११.४६ प्रतिशतले बृद्धि भई सात अर्ब ६८ करोडबाट बढेर आठ अर्ब ५६ करोड पुगेको छ । देश आर्थिक संकटमा फसेको अवस्थामा समेत नेशनल लाइफले जीवन बीमाको व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ ।

त्यस्तै, नेशनल लाइफको कूल दावी भुक्तानी १२ प्रतिशतले बृद्धि भई आठ अर्ब ४० करोडबाट बढेर नौ अर्ब ४४ करोड नाघेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा दुई अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिनामा तीन अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले बीमा अभिकर्तालाई कमिशनबापत मात्रै ७६ करोड ७४ लाख ३५ हजार ७७२ रुपैयाँ वितरण गरेको छ । अघिल्लो वर्ष यस्तो रकम ७३ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

छ महिनामा नेशनल लाइफले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको मुनाफा १६.९१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष जम्मा २१ करोड मुनाफा कमाएको थियो ।

व्यवसाय र मुनाफा दुवै बृद्धि गरेर नेशनल लाइफले देश आर्थिक संकटमा फसेको बेलामा समेत उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*